काठमाडौं। वर्षासँगै आएको बाढी र पहिरोका कारण आज पनि देशका विभिन्न स्थानमा सडक यातायात अवरुद्ध भएको छ।
प्रहरीका अनुसार केही राजमार्गमा भने एकतर्फी रूपमा मात्र सवारी साधन सञ्चालनमा रहेका छन्।
गोरखाको आरुघाटमा बाढीले सडक पूर्ण रूपमा अवरुद्ध बनाएको छ। सोतीमा रहेको फलामे पुल र गोरखाको आरुघाटबाट धादिङ जोड्ने सडक पूर्ण रूपमा बन्द रहेको प्रहरीले जनाएको छ।
सोही मार्गको आरुघाट-९ स्थित नयाँ पुलमा बाढीको प्रभावले गर्दा साना सवारी साधन एकतर्फी रूपमा मात्र सञ्चालन भइरहेका छन्।
त्यसैगरी, सुर्खेतमा पहिरो खस्दा कर्णाली राजमार्गमा पनि यातायात एकतर्फी मात्रै सञ्चालनमा छ। रसुवामा भने गत भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीले सडकमा क्षति पुर्याउँदा जिल्लाभर नै यातायात सेवा प्रभावित भएको छ।

