काठमाडौं: वैदेशिक रोजगार विभागले मलेसियाको फरेन वर्कर म्यानेजमेन्ट सिस्टम (एफडब्लूसीएमएस) मा छनोट भएका २५ वटा म्यानपावर कम्पनीमाथि अनुगमन सुरु गरेको छ। विभागले मंगलबारदेखि नै ती कम्पनीको छानबिन प्रक्रिया अघि बढाएको हो।
विभागका महानिर्देशक नवराज ढकालका अनुसार अनुगमनका लागि अनुसन्धान अधिकृत तोकिएको छ। उनले भने, ‘आजबाट विभागले म्यानपावरमा अनुगमन सुरु गरेको छ। अनुगमनमा केही कैफियत भेटिएमा तत्काल कारबाही गरिने छ।’ विभागले यसअघि नै ती म्यानपावरका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ।
विभागले ती २५ म्यानपावर कम्पनीले मलेसियाको प्रणालीमा एकाधिकार कायम गरेको आरोपमा छानबिन गरिरहेको छ। साथै, विभागले सञ्चालकहरूलाई ३५ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। तोकिएको समयभित्र सम्पर्कमा नआएमा उनीहरूको बैंकिङ कारोबार र यात्रा अनुमति रोक्का गरिने विभागले जनाएको छ। म्यानपावर व्यवसायीहरूले भने कूटनीतिक माध्यमबाट आफूहरूलाई उक्त सूचीबाट हटाइदिन सरकारसँग अनुरोध गरेका थिए।
यसैबीच, युवा, श्रम तथा रोजगार मन्त्रालयले मलेसिया रोजगारीमा देखिएका समस्या समाधान गर्न द्विपक्षीय संयन्त्रको बैठक राख्न प्रस्ताव गरेको छ। मन्त्रालयले नोभेम्बर १८-१९ वा डिसेम्बर २-३ मा संयुक्त कार्य समूहको बैठक बस्न मलेसियालाई आग्रह गरेको हो।
