काठमाडौं: धादिङको बेनीघाट रोराङ गाउँपालिका-९ मझिमटारस्थित पृथ्वी राजमार्गमा सोमबार सवारी आवागमन तीन घण्टा बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले एक सूचना जारी गर्दै सडकमा सवारी आवागमन बन्द हुने जानकारी दिएको हो।
कार्यालयका अनुसार मझिमटारमा आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको काम भइरहेकाले सवारी आवागमन रोक्न लागिएको हो। कात्तिक १६ गते सोमबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उक्त सडक खण्ड भएर चल्ने सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द रहनेछ।
निर्माण कार्यलाई सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गर्नका लागि सो समयमा सवारी आवागमनमा रोक लगाइएको प्रशासनले जनाएको छ। उक्त अवधिमा सञ्चालनमा आउने सवारी साधनहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ।
