काठमाडौं: मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेको सचिवहरूको नियमित बैठकले चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमनलाई तीव्रता दिने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले बजारमा हुने कालोबजारी नियन्त्रण गर्न सम्बन्धित मन्त्रालयहरूलाई कडा रूपमा प्रस्तुत हुन निर्देशन दिएको छ।
चाडपर्वको समयमा उपभोक्ता ठगिन सक्ने जोखिमलाई मध्यनजर गर्दै अनुगमनलाई थप प्रभावकारी बनाउने निर्णय लिइएको हो। बैठकले सरकारी सेवा प्रवाहको अवस्था र त्यसको चुस्तदुरुस्तताका विषयमा पनि अनुगमन गर्ने निर्णय गरेको छ।
मुख्यसचिवको नेतृत्वमा नियमित रूपमा बस्ने सचिवहरूको बैठकले समसामयिक विषयमा पनि छलफल गरेको छ। सामान्यतया महिनाको सोमबार बस्ने उक्त बैठक दसैँ बिदाको समयतालिकाका कारण यस पटक सोमबार बसेको हो। बैठकमा सहभागी एक सचिवका अनुसार चाडपर्वमा हुनसक्ने अनियमितता रोक्न सरकारी संयन्त्रलाई थप क्रियाशील बनाउने विषयमा जोड दिइएको छ।
