काठमाडौं: नेपालमा अक्टोबर महिनामा अमेरिकी पर्यटकको आगमन आठ वर्षयताकै उच्च विन्दुमा पुगेको छ। नेपाल पर्यटन बोर्डका अनुसार यस पटकको अक्टोबरमा १७ हजार ४३७ अमेरिकी पर्यटक नेपाल भित्रिएका छन्। मुलुकमा विभिन्न विपद्का घटना भए पनि अमेरिकी पर्यटकको संख्यामा भएको यो वृद्धिले पर्यटन क्षेत्रमा सकारात्मक सन्देश दिएको छ।
बोर्डको तथ्यांकअनुसार अक्टोबरमा हवाई मार्ग हुँदै कुल १ लाख ३२ हजार ८१४ विदेशी पर्यटक नेपाल आएका छन्। यो संख्या सन् २०२५ को सोही महिनाको तुलनामा ३.४ प्रतिशतले बढी हो। गत वर्ष अक्टोबरमा १ लाख २८ हजार ४३३ पर्यटक नेपाल भित्रिएका थिए।
पर्यटक आगमनको सूचीमा यस पटक अमेरिका पहिलो स्थानमा उक्लिएको छ। यसअघि प्रायः भारतीय पर्यटकको संख्या सबैभन्दा बढी हुने गरेको थियो। बोर्डका अनुसन्धान विभाग प्रमुख लक्ष्मण गौतमले अमेरिकी पर्यटकको आगमनले समग्र पर्यटन क्षेत्रलाई नै आश्चर्यमा पारेको बताए। उनले भने, ‘समग्र पर्यटन क्षेत्रलाई नै अचम्मित पार्ने गरी यसपटक अमेरिकी पर्यटकको आगमन बढेको छ। भारतीय पर्यटकको आगमनलाई समेत उछिन्दै अमेरिकी पर्यटकको संख्या पहिलो स्थानमा पुगेको छ।’
तथ्यांकअनुसार अक्टोबरमा १२ हजार ९७ भारतीय पर्यटक नेपाल आएका छन् भने ११ हजार ६९५ पर्यटकसहित चीन तेस्रो स्थानमा रहेको छ। त्यस्तै, बेलायतबाट ९ हजार ३८५ र अस्ट्रेलियाबाट ९ हजार ३५३ पर्यटक नेपाल भित्रिएका छन्।
पर्यटन बोर्डका अनुसार अक्टोबरमा आएका पर्यटकमध्ये ३०.०२ प्रतिशत युरोपेली मुलुकका छन्। एसियाली मुलुकको हिस्सा २० प्रतिशत, सार्क मुलुकको १८ प्रतिशत र अमेरिकी पर्यटकको हिस्सा १६ प्रतिशत रहेको छ। गौतमका अनुसार भारतीय पर्यटकको आगमन प्रभावित भएका बेला अमेरिकी पर्यटकको संख्या बढ्दा समग्र आगमनमा वृद्धि भएको हो। उनले थपे, ‘हामीले अपेक्षा गरेभन्दा बढी सुधार हुने गरी अमेरिकी पर्यटकको आगमन भएको छ।’
