काठमाडौं। तिहार नजिकिएसँगै नेपाली बजारमा भाइ मसलाका रूपमा प्रयोग हुने ड्राइफ्रुट्सको मूल्य बढेको छ । चाडपर्वलाई लक्षित गरी आयात बढाइए पनि ढुवानीमा अवरोध, भन्सार बन्द र मागमा भएको वृद्धिका कारण बजारमा आपूर्ति प्रभावित हुँदा मूल्य बढेको हो।
व्यापारीका अनुसार गत वर्षको तुलनामा यस वर्ष अधिकांश ड्राइफ्रुट्सको मूल्य बढेको छ । कालिमाटीका व्यापारी अनुराग चौधरीका अनुसार वस्तु हेरेर प्रतिकिलो १५० देखि २०० रुपैयाँसम्म मूल्य वृद्धि भएको छ । केही वस्तुको मूल्यमा भने अझ बढी वृद्धि देखिएको छ ।
यस वर्ष सबैभन्दा बढी पिस्ताको मूल्य बढेको छ । गत वर्ष प्रतिकिलो २ हजार २०० रुपैयाँमा बिक्री भएको पिस्ताको मूल्य अहिले ३ हजार ५०० देखि ३ हजार ६०० रुपैयाँ पुगेको छ । बजारको अवस्था यस्तै रहे प्रतिकिलो ३ हजार ८०० रुपैयाँसम्म पुग्न सक्ने चौधरीको अनुमान छ ।
उनका अनुसार गत भदौमा रसुवामा आएको बाढीले ढुवानी प्रभावित बनाएको थियो । त्यसैगरी, दशैंका समयमा करिब एक साता भन्सार कार्यालय बन्द हुँदा आयात रोकिएको र भन्सार खुलेलगत्तै तिहारको माग बढ्दा बजारमा पर्याप्त सामान आउन सकेन । यसले पनि मूल्य वृद्धिमा दबाब सिर्जना गरेको हो ।
चौधरीले व्यापारीले पहिले जस्तै निश्चित नाफा राखेर सामान बिक्री गरिरहेको उल्लेख गर्दै खरिद लागत नै बढेकाले उपभोक्ताले बढी मूल्य तिर्नुपरेको बताए । आयात लागत, ढुवानी खर्च र बजारमा वस्तुको उपलब्धताले खरिद मूल्य निर्धारण गर्ने भएकाले खुद्रा व्यापारीले मात्रै मूल्य नियन्त्रण गर्न नसक्ने उनको भनाइ छ ।
पछिल्लो समय केही वस्तुको मूल्यमा सामान्य गिरावट देखिए पनि समग्रमा ड्राइफ्रुट्सको मूल्य उच्च नै रहेको व्यापारीहरू बताउँछन् ।
नेपालमा भाइटीकाका अवसरमा दाजुभाइलाई सगुनका रूपमा काजु, बदाम, किसमिस, पिस्ता, ओखरलगायतका ड्राइफ्रुट्स दिने परम्परा छ ।
स्वदेशी उत्पादनले आन्तरिक माग धान्न नसक्ने भएकाले नेपालले भारत, चीन, भियतनाम, अमेरिका, इन्डोनेसिया र थाइल्यान्डलगायतका देशबाट यस्ता वस्तु आयात गर्दै आएको छ ।
भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को असोजसम्म ३ अर्ब २९ करोड रुपैयाँ बराबरका १७ हजार मेट्रिक टन काजु, बदाम, हेजलनट, पिस्ता, सुपारी र नरिवललगायतका वस्तु आयात भएका छन् ।
गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ९२ करोड रुपैयाँ बराबरका १६ हजार मेट्रिक टन यस्ता वस्तु आयात भएका थिए । यसरी हेर्दा एक वर्षको अवधिमा आयात मूल्य ३७ करोड रुपैयाँले बढेको छ भने आयात परिमाण १ हजार मेट्रिक टनले वृद्धि भएको छ ।
तिहारमा भाइटीकाका लागि विशेष महत्त्व राख्ने ड्राइफ्रुट्सको माग चाडपर्वको समयमा थप बढ्ने गरेको छ । आयातमा निर्भर नेपाली बजारमा मागअनुसार आपूर्ति हुन नसक्दा मूल्यमा समेत चाप पर्ने गरेको छ ।
