झापा। झापाको गौरीगञ्ज गाउँपालिका–१ स्थित कन्काई नदीबाट प्रहरीले ७० किलो सडेको माछा बरामद गरेको छ।
भारतबाट नेपाल भित्र्याउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय झिलझिले र प्रहरी चौकी कुञ्जीबारीको संयुक्त टोलीले माछा बरामद गरेको हो।
प्रहरी निरीक्षक महेन्द्र पराजुलीका अनुसार गोप्य सूचनाका आधारमा भारतबाट सडेको माछा नेपाल भित्र्याइँदै गरेको जानकारी पाएपछि प्रहरी चौकी कुञ्जीबारीको टोली तत्काल घटनास्थल पुगेको थियो।
बरामद माछा रोहु प्रजातिको रहेको प्राविधिकले बताएका छन्। बरामद माछाबाट दुर्गन्ध फैलिएको, शरीरका विभिन्न भागमा खाल्डा परेको र माछा चिप्लो भएको प्रहरीले जनाएको छ।
खान अयोग्य अवस्थामा रहेका माछा बिक्री वितरणमा पुगेको भए उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै प्रहरीले सर्वसाधारणलाई माछा मासु का उपभोक्ताले उपभोग गर्ने वस्तुको गुणस्तर नापजाँच गरेर मात्र उपभोग गर्न सुझाव दिएको छ। प्रहरीले बरामद माछा इलाका प्रहरी कार्यालय झिलझिले परिसरमा खाडल खनेर पुरेको छ।
स्थानीय वडा नम्बर ८ का अध्यक्ष सन्तकुमार फेउदिन र पत्रकारको रोहबरमा माछा नष्ट गरिएको प्रहरीले जनाएको छ। सडेको माछा खुला ठाउँमा फाल्दा दुर्गन्ध फैलिनुका साथै झिँगा, कीरा तथा अन्य जीवाणुको जोखिम बढ्न सक्ने भएकाले मानव स्वास्थ्य र वातावरणमा थप असर नपरोस् भन्ने उद्देश्यले माछा नष्ट गरिएको प्रहरी निरीक्षक पराजुलीले जानकारी दिए।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ ले दूषित खाद्य पदार्थको नियमन तथा नियन्त्रण गर्ने व्यवस्था गरेको छ । ऐनअनुसार खाद्य पदार्थको स्वच्छता र गुणस्तर कायम गर्नु सम्बन्धित सबैको दायित्व हो। उनका अनुसार दूषित खाद्य पदार्थको बिक्री वितरण नियन्त्रण गर्न सकिन्छ।
भारतबाट नेपालमा माछा आयात हुने गरेको छ। तर, माछा ढुवानीका क्रममा उचित तापक्रम कायम नगर्दा, लामो समयसम्म भण्डारण गर्दा वा बजारमा बिक्री हुन नसकेका माछा अवैध रूपमा नेपाल भित्र्याउँदा उपभोक्ताको स्वास्थ्य जोखिम मा पर्ने गरेको वडा अध्यक्ष सन्तकुमार फेउदिनले बताए ।
विशेष गरी खुला सीमा क्षेत्रबाट हुने अवैध ओसारपसार नियन्त्रण गर्न कठिन हुने भएकाले प्रहरी तथा सम्बन्धित निकायले नियमित अनुगमन गर्नुपर्ने उनको भनाइ छ। सडेको माछा सस्तो मूल्यमा बिक्री गर्ने उद्देश्यले नेपाल भित्र्याइएको हो वा अन्य कारणले यस्तो भएको हो भन्ने विषयमा थप अनुसन्धान सुरु भएको प्रहरीको भनाइ छ।
दशैंतिहारलाई लक्षित गरी बजारमा माछामासु तथा खाद्यान्नको खपत बढ्ने भएकाले प्रहरीले खाद्य वस्तुको नियमित अनुगमन गरिरहेको जनाएको छ। उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पुर्याउन सक्ने सडेगलेका तथा गुणस्तरहीन खाद्य वस्तुको बिक्री वितरण रोक्न प्रहरी सक्रिय भएको हो।
प्रहरी निरीक्षक पराजुलीले सर्वसाधारणलाई दुर्गन्ध आउने, सडेको वा शंकास्पद माछामासु तथा खाद्यान्न खरिद र उपभोग नगर्न आग्रह गरेका छन्।
त्यस्ता वस्तु बिक्री वितरण भइरहेको जानकारी पाए तत्काल प्रहरीलाई खबर गर्न पनि उनले अनुरोध गरेका छन्। वडाध्यक्ष फेउदिनले सडेको माछा नेपाल भित्रिनुको कारण, यसको नियन्त्रण र उपभोक्ताको स्वास्थ्य सुरक्षाका विषयमा चासो व्यक्त गरेका छन्।
