काठमाडौं: तिहार नजिकिएसँगै बजारमा भाइमसलाको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । भाइटीकामा दाजुभाइलाई सगुनका रूपमा दिइने काजु, बदाम, पिस्ता, किसमिस र ओखरलगायतका ड्राइफ्रुट्सको मूल्य गत वर्षको तुलनामा निकै बढेको हो ।
कालिमाटी बजारका होलसेल व्यापारी जित दासका अनुसार आयात गर्दा नै मूल्य बढेर आएकाले बजारमा पनि महँगो भएको हो । विशेषगरी पिस्ताको मूल्यमा सबैभन्दा बढी वृद्धि देखिएको छ । गत वर्ष २ हजारदेखि २ हजार २ सय रुपैयाँ प्रतिकिलोमा पाइने पिस्ता अहिले ४ हजार रुपैयाँसम्म पुगेको छ ।
त्यस्तै, काजु प्रतिकिलो १ हजार ८ सयदेखि २ हजार २ सय रुपैयाँ, किसमिस ७ सयदेखि ८ सय रुपैयाँ र आलमण्ड बदाम १ हजार ८ सयदेखि १ हजार ९ सय रुपैयाँसम्ममा बिक्री भइरहेको छ । ओखरको मूल्य ५ सय ५० देखि ६ सय ५० रुपैयाँ र मिश्रीको मूल्य १ सय ८० देखि २ सय रुपैयाँसम्म पुगेको छ । अन्य मसलाहरू मखना, नरिवल, खुर्पानी र ल्वाङको मूल्यमा पनि वृद्धि भएको छ ।
भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको साउनदेखि असोजसम्म नेपालले २ अर्ब ४७ करोड ४० लाख रुपैयाँबराबरको ड्राइफ्रुट्स आयात गरेको छ । गत वर्षको सोही अवधिमा २ अर्ब ३३ करोड ७१ लाख रुपैयाँबराबरको आयात भएको थियो । आयातको परिमाण र रकममा केही वृद्धि भए पनि बजारमा भने उपभोक्ताले उच्च मूल्यवृद्धि खेपिरहेका छन् । नेपालले भारत, चीन, अमेरिका, इन्डोनेसिया र थाइल्यान्डसहितका विभिन्न मुलुकबाट ड्राइफ्रुट्स आयात गर्दै आएको छ ।
