काठमाडौं: बैंक तथा वित्तीय संस्थाहरूमा जम्मा भएको कुल निक्षेपको आकार मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) भन्दा १.३० गुणा ठूलो भएको छ। पछिल्लो तथ्यांकअनुसार बैंकहरूमा ८५ खर्ब २९ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ, जबकि नेपालको जीडीपी करिब ६६ खर्ब रुपैयाँ रहेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ।
निक्षेपको तुलनामा कर्जा प्रवाह भने सोचेअनुरूप बढ्न सकेको छैन। नेपाल राष्ट्र बैंकको रिपोर्टअनुसार हालसम्म ६१ खर्ब ४ अर्ब रुपैयाँ मात्र कर्जा लगानी भएको छ। बैंकहरूसँग करिब १५ खर्ब रुपैयाँ लगानीयोग्य पुँजी (तरलता) थुप्रिए पनि निजी क्षेत्रबाट कर्जाको माग न्यून छ। चालु आर्थिक वर्षको पछिल्लो दुई महिनामा बैंकहरूले ३७ खर्ब ६४ अर्ब ५० करोड रुपैयाँ तरलता केन्द्रीय बैंकमा फिर्ता पठाएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठका अनुसार व्यावसायिक वातावरण सहज नहुँदा निजी क्षेत्र कर्जा लिएर लगानी गर्न डराइरहेको छ। उनले भने, ‘वातावरण अझै सहज र सरल भइसकेको छैन। जुनकुनै बेला जे पनि हुन सक्छ भन्ने त्रासमा व्यवसायीहरू छन्। लगानीको सुनिश्चितता नभएसम्म थप बैंकबाट कर्जा लिएर व्यवसाय गर्ने मुडमा व्यवसायीहरू छैनन्।’
अर्थविद् नरबहादुर थापा रेमिट्यान्सको पैसा उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने योजनाको अभावले बैंकमा निक्षेप मात्र बढिरहेको बताउँछन्। उनले सरकारले ठूला र गेमचेन्जर आयोजनाहरू अघि बढाउनुपर्नेमा जोड दिएका छन्। राष्ट्र बैंकको तथ्यांकअनुसार निजी क्षेत्रतर्फ प्रवाहित कर्जा वार्षिक विन्दुगत आधारमा २०८३ भदौ मसान्तसम्म ७.३ प्रतिशतले बढेको छ। बैंकहरूले घरजग्गा धितोमा ६२.८ प्रतिशत कर्जा प्रवाह गरेका छन् भने चालु सम्पत्ति धितोमा १५.६ प्रतिशत लगानी रहेको छ।
