काठमाडौं: जिल्ला भूमि समस्या समाधान समिति उदयपुरले ११६ भूमिहीन परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको छ। लालपुर्जा प्राप्त गर्नेमा रौतामाई गाउँपालिकाका ३९ भूमिहीन दलित र २६ भूमिहीन सुकुम्बासी रहेका छन्।
त्यस्तै कटारी नगरपालिकाका ४ भूमिहीन दलित र ७ भूमिहीन सुकुम्बासी तथा बेलका नगरपालिकाका ८ भूमिहीन दलित र ३२ भूमिहीन सुकुम्बासी परिवारले जग्गाको स्वामित्व पाएका छन्। लामो समयदेखि जग्गाविहीन रहेका स्थानीयहरू अब कानुनी रूपमा जग्गाधनी बनेका छन्।
यसैगरी धनुषाको छिरेश्वरनाथ नगरपालिका वडा नं ५ का ३ भूमिहीन दलित र ३ भूमिहीन सुकुम्बासी परिवारलाई पनि जग्गाधनी पुर्जा प्रदान गरिएको छ। यसरी उदयपुर र धनुषा गरी कुल १२२ परिवारले जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका छन्। सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राखेको छ। भूमिहीन नागरिकलाई कानुनी रूपमा जग्गाधनी बनाउने दीर्घकालीन लक्ष्यसहित सरकारले लालपुर्जा वितरण कार्यलाई थप प्रभावकारी रूपमा अघि बढाएको छ।
