काठमाडौं: उच्च हिमाली भूभागमा अत्यधिक चिसो बढेपछि बाजुराका भेडापालक किसानहरू आफ्नो बथानसहित बेँसी झर्न थालेका छन्।
कात्तिकको दोस्रो सातामा भएको वर्षा र हिमपातका कारण लेकाली क्षेत्रमा चिसो बढेसँगै चरनको अभाव हुन थालेपछि किसानहरूले भेडीगोठहरू बेँसीतर्फ सार्न थालेका हुन्। बूढीनन्दा नगरपालिका-९ का भेडापालक किसान सुमन थापाले अत्यधिक चिसोका कारण आफू परिवारसहित बेँसी झरेको बताए।
उनले २०० वटा भेडासहित साँफे-मार्तडी सडकखण्ड हुँदै अछामको गैल जान लागेको जानकारी दिए। उच्च लेकाली क्षेत्रमा हिउँ पर्न थालेपछि भेडा चराउन कठिन हुने भएकाले उनीहरू चैत-वैशाख महिनासम्मका लागि बेँसी झर्ने गर्दछन्। हिउँदको चिसोबाट भेडाबाख्रालाई जोगाउन र घाँसको सहजताका लागि किसानहरूले पुस्तौँदेखि यस्तो परम्परागत मौसमी बसाइँसराइ गर्दै आएका छन्।
जिल्लाका उच्च हिमाली भेगका व्यवसायीहरू हिउँदको समयमा चिसो छल्न बूढीगङ्गा र खप्तड छेडेदहका साथै छिमेकी जिल्ला डोटी र अछामका विभिन्न स्थानमा जाने गर्दछन्। यो परम्पराले स्थानीय पशुपालन र ग्रामीण जीवनशैलीलाई समेत झल्काउने गरेको छ।
