काठमाडौं: पाल्पाका किसानहरू व्यावसायिक सयपत्री खेतीबाट राम्रो आम्दानी हुने भएपछि उत्साहित भएका छन्। तिहारको समयमा फूलको माग बढेसँगै किसानहरू फूल टिप्न र माला तयार गर्न व्यस्त छन्।
रामपुर नगरपालिका-४ का दिलबहादुर थापा र लालबहादुर थापाले विगत ८ वर्षदेखि व्यावसायिक रूपमा सयपत्री खेती गर्दै आएका छन्। सरकारले भारतीय फूल तथा मालाको आयातमा रोक लगाएपछि स्थानीय उत्पादनले बजार पाएको कृषक दिलबहादुरले बताए। उनले दुई रोपनी जग्गाबाट ३ लाख रुपैयाँभन्दा बढी आम्दानी हुने अनुमान गरेका छन्। अहिले बगैँचाबाटै प्रतिकिलो ५ सय रुपैयाँमा फूल बिक्री भइरहेको छ। मंसिरमा लगनको महिना सुरु हुने भएकाले फूल खेर नजानेमा किसान ढुक्क छन्।
माथागढी गाउँपालिका-२ का दामोदर घर्तीले चार रोपनीमा लगाएको फूल स्थानीय बजारसँगै तानसेन र बुटवल पठाउने गरेका छन्। उनले यस वर्ष १ लाख ५० हजार देखि २ लाख रुपैयाँसम्म आम्दानी हुने अनुमान गरेका छन्। त्यस्तै, रामपुर-१० का ज्ञानप्रसाद भण्डारीले दुई रोपनीभन्दा बढीमा लगाएको फूलबाट २ लाख रुपैयाँभन्दा बढी आम्दानी हुने अपेक्षा गरेका छन्। उनको फूल किन्न छिमेकी जिल्ला स्याङ्जाको चापाकोटबाट समेत ग्राहक आउने गरेका छन्।
तानसेन नगरपालिका-७ का पदम गैरेले ५ रोपनीमा लगाएको फूलबाट २ देखि साढे २ लाख रुपैयाँसम्म आम्दानी हुने बताएका छन्। कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष पाल्पामा साढे ४ हेक्टरमा सयपत्री र आधा हेक्टरमा मखमली फूलको खेती गरिएको छ। जिल्लाभर फूलको कारोबारबाट ७७ लाख ४० हजार रुपैयाँ बराबरको आम्दानी हुने अनुमान गरिएको छ। रामपुर, तानसेन, माथागढी, रैनादेवी छहरा, बगनासकाली, पूर्वखोला र तिनाउलगायतका स्थानमा व्यावसायिक फूलखेती विस्तार भएको छ। कृषि ज्ञान केन्द्रकी प्रमुख अमिता पाण्डेका अनुसार कार्यालयले किसानलाई प्रविधि र बीउ छनोटमा सहयोग गर्दै आएको छ।
