काठमाडौं: नर्सरी व्यवसायी संघ नेपालले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको ‘चौथो तिहार फ्लोरा एक्स्पो २०८३’ शनिबार सम्पन्न भएको छ। कार्तिक १७ गतेदेखि २१ गतेसम्म सञ्चालित सो एक्स्पोमा १ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
मेला संयोजक तथा संघका उपाध्यक्ष लक्ष्मी महर्जनका अनुसार एक्स्पोमा ३५ हजारभन्दा बढीले अवलोकन गरेका छन्। अपेक्षा गरिएअनुसार नै दर्शकहरूको उपस्थिति रहेकाले नर्सरी व्यवसायीहरू उत्साहित भएको उनले बताइन्।
संघका अध्यक्ष रामजी प्रसाद तिमिल्सिनाले नेपालको भूगोल सुहाउँदो पुष्प, फलफूल, जडिबुटी तथा कृषिजन्य नर्सरीको उत्पादनमा आत्मनिर्भर बन्ने लक्ष्यका साथ मेला आयोजना गरिएको बताए। उनले परनिर्भरता हटाउन र स्वरोजगार सिर्जना गर्न संघले आगामी दिनमा राजधानी र अन्य प्रदेशमा समेत यस्ता प्रदर्शनीलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।
पाँच दिनसम्म चलेको उक्त एक्स्पोमा ६३ वटा व्यावसायिक स्टलसहित वनस्पति विभाग, पुष्प विकास केन्द्र र प्रतिस्पर्धाका स्टल गरी कुल ७३ वटा स्टल राखिएका थिए। प्रदर्शनीमा विभिन्न प्रजातिका फूल, आलंकारिक बिरुवा, फलफूलका बोट, मलखाद, अर्गानिक तथा रासायनिक विषादी, बिउबिजन र आधुनिक कृषि औजार तथा प्रविधिहरू राखिएका थिए। पुष्प विकास केन्द्र र वनस्पति विभागको प्रवर्द्धनमा आयोजित यो मेलाले नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको थियो। नर्सरी व्यवसायी संघले तिहार लक्षित यस एक्स्पोका साथै चैत महिनामा ‘नेसनल हर्टिकल्चर एक्स्पो’ गर्दै आएको छ।
