कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका-१९ बागफाँटाका राजकुमार रानाले तरकारीको बेर्ना तथा धान र गहुँको बीउ बिक्री गरेर राम्रो आम्दानी गर्दै आएका छन्। विगत २० वर्षदेखि व्यावसायिक रूपमा बेर्ना उत्पादनमा सक्रिय रानाले परम्परागत खेतीसँगै यसलाई आफ्नो मुख्य आयस्रोत बनाएका हुन्।
रानाले प्याज, टमाटर, बन्दा, काउली र खुर्सानीलगायतका तरकारीका बेर्ना उत्पादन गर्दै आएका छन्। उनले दुई बिघा आफ्नै र दुई बिघा अधियाँ जग्गामा धान र गहुँ खेती गर्दै आएका छन्। उनले धान र गहुँको बीउ बिक्रीबाट मात्रै वार्षिक चार लाख रुपैयाँ आम्दानी हुने गरेको बताए। उनले भने, “गहुँ र धानको बीउ बिक्रीबाट वार्षिक दुई/दुई लाख आम्दानी हुन्छ। २० देखि २५ हजारको बेर्ना बिक्री गर्छु।” यस वर्ष उनले प्याजको बेर्ना मात्रै २५ हजार रुपैयाँको बिक्री गरेका छन्। अन्य तरकारीका बेर्ना बिक्रीबाट थप एक लाख रुपैयाँ आम्दानी हुने गरेको उनको भनाइ छ।
उनले प्रतिबोट दुईदेखि तीन रुपैयाँमा बेर्ना बिक्री गर्ने गरेका छन्। बिक्रीका लागि बजार जानु नपर्ने र गाउँमै किसानले किन्ने गरेको उनले बताए। उनी आफ्नो उत्पादन घर नजिकै रहेको उदयदेव सहकारीको बीउ प्रशोधन केन्द्रमा बिक्री गर्छन्। रानाले भने, “मेरो कुनै रोजगारी छैन। खेती र तरकारीको बेर्ना बिक्री गरेर अर्को पटक खेती गर्नमा लगानी गर्छु। छोराछोरीको पढाइ र घरखर्च सबै चलेको छ।” रानाको यस व्यवसायले गाउँका अन्य किसानलाई समेत तरकारी खेती गर्न सहज बनाएको छ।
