काठमाडौं: चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालमा ११ करोड ६८ लाख १५ हजार रुपैयाँ बराबरको तास आयात भएको छ। भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि असोजसम्मको अवधिमा कुल ३४ लाख २२ हजार ६ सय ६१ पिस तास भित्रिएको हो।
चाडपर्वलाई लक्षित गर्दै आयात गरिएको उक्त तासबाट सरकारले ७ करोड ७ लाख ७४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। यो रकम आयातित तासको खरिद मूल्यको करिब ६० प्रतिशत हुन आउँछ।
नेपालको कानुनले मनोरञ्जनको साधनका रूपमा तास आयात गर्न अनुमति दिएको छ। यद्यपि, प्रहरीले जुवातास खेल्नेहरूलाई नियन्त्रणमा लिने कार्य गरिरहेको भए पनि भन्सार नाकाबाट भने लाखौँ बट्टा तास निर्वाध रूपमा भित्रिरहेको छ। कानुनले जुवा खेल्न निषेध गरे पनि तासको आयात र बिक्री वितरण भने खुला छ।
