काठमाडौं: रसुवाको गोसाइँकुण्ड गाउँपालिका-५ स्थित स्याफ्रुबेँसीमा स्थानीय तह, सुरक्षा निकाय र नागरिक समाजको संयुक्त प्रयासमा काठेपुल निर्माण सम्पन्न भएको छ। पुल निर्माण भएसँगै अवरुद्ध रहेको आवतजावत सहज बनेको छ।
गत कात्तिक १४ गते भोटेकोशीमा आएको बाढीले यसअघि निर्माण गरिएको काठेपुल बगाएको थियो। निरन्तर तीन दिनको प्रयासपछि पुल पुनः निर्माण गरी सञ्चालनमा ल्याइएको हो। यस कार्यमा गोसाइँकुण्ड गाउँपालिका, आमाछोदिङ्मो गाउँपालिकाका प्रतिनिधि, नेपाल रेडक्रस सोसाइटी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दाले श्रमदान गरेका थिए।
यसअघि भदौ १० गते आएको बाढीले पक्की पुल र सडकखण्ड बगाउँदा रसुवाको उत्तरी भेगमा यातायात सेवा पूर्ण रूपमा ठप्प भएको थियो। लामो समयसम्म यातायात र पैदल मार्गसमेत अवरुद्ध हुँदा गोसाइँकुण्ड गाउँपालिकाका वडा नं १ देखि ५ र आमाछोदिङ्मो गाउँपालिकाका वडा नं १ देखि ५ का बासिन्दाले सास्ती खेप्नुपरेको थियो।
आमाछोदिङ्मो गाउँपालिका वडा नं ५ का वडाध्यक्ष गोम्बोछिरिङ तामाङका अनुसार, काठेपुल पुनः निर्माण भएपछि दुवै गाउँपालिकाका बासिन्दा र यात्रुहरूलाई पैदल आवतजावतका लागि ठूलो राहत मिलेको छ।
