काठमाडौं: सरकारले सार्वजनिक निर्माण कार्यमा लापरबाही गर्ने निर्माण व्यवसायीहरूमाथि कारबाही प्रक्रिया तीव्र पारेको छ। सहरी विकास तथा भवन निर्माण विभाग मातहत सञ्चालित विभिन्न ८ वटा प्रमुख आयोजनाहरूको ठेक्का तोड्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। वर्षौँदेखि काम अलपत्र पार्ने र सम्झौताअनुसार प्रगति नदेखाउने निर्माण कम्पनीहरूलाई कालोसूचीमा राख्ने तयारी सरकारले गरेको छ।
विभागका अनुसार पुल्चोकस्थित मन्त्री निवासको सुरक्षा निकायको भवन निर्माणको जिम्मा पाएको कबिन्द्र निर्माण सेवाले सम्झौता भएको ६ वर्ष बितिसक्दा पनि कुनै काम गरेको छैन। सोही स्थानमा रहेको मन्त्री निवासको मुख्य भवन निर्माणको जिम्मा पाएको एएनके-कबिन्द्र जेभीको प्रगति पनि जम्मा २० प्रतिशत मात्र देखिएको छ। मन्त्री निवासका साथै ग्रामीण सडक, सहरी पूर्वाधार तथा सहरी विकासका विभिन्न खण्डमा ठेक्का लिएर काम नगर्ने अन्य आयोजनाहरू पनि कारबाहीको दायरामा परेका छन्।
मोबिलाइजेसन पेस्की लिएर वा विनाकारण लामो समयसम्म काम अलपत्र पार्ने निर्माण कम्पनीहरूलाई सरकारले थप छुट नदिने नीति लिएको छ। कानुनबमोजिम ठेक्का तोडी सम्बन्धित कम्पनीहरूको धरौटी जफत गर्ने र कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाइएको छ। यसरी ठेक्का तोडिएका आयोजनाहरूलाई नयाँ प्रक्रियामार्फत पुनः ठेक्का लगाइ निर्माण कार्य छिटो सम्पन्न गर्ने मन्त्रालयको योजना छ।
