काठमाडौं: अमेरिकी प्रविधि कम्पनी एनभिडियाको सञ्चालक समितिले बिहीबार प्रमुख वित्तीय अधिकृत कोलेट क्रेसलाई अन्तरिम प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ।
कम्पनीका अध्यक्ष तथा सीईओ जेन्सेन ह्वाङले आफ्ना सबै पदबाट राजीनामा दिएपछि उक्त निर्णय गरिएको हो। क्रेस सन् २०१३ देखि एनभिडियामा प्रमुख वित्तीय अधिकृत तथा कार्यकारी उपाध्यक्षका रूपमा कार्यरत छिन्। एनभिडियामा आबद्ध हुनुअघि उनले सिस्को कम्पनीमा सीएफओ तथा वरिष्ठ उपाध्यक्षका रूपमा जिम्मेवारी सम्हालेकी थिइन्।
एनभिडियामा क्रेसलाई प्रभावशाली नेतृत्वकर्ताका रूपमा लिइन्छ। उनी विभिन्न प्रविधिसम्बन्धी सम्मेलनहरूमा ह्वाङसँगै सहभागी हुँदै आएकी थिइन्। कम्पनीको वित्तीय रणनीति निर्माण र लगानीकर्ताहरूसँगको संवादमा उनको भूमिका महत्वपूर्ण रहँदै आएको छ। क्रेसले विगतमा कम्पनीको सेयर मूल्यभन्दा पनि नयाँ प्रविधिको विकास र नवप्रवर्तनलाई प्राथमिकता दिने बताउँदै आएकी छन्।
ह्वाङ तथा अन्य उच्च अधिकारीको तुलनामा उनको प्राविधिक पृष्ठभूमि फरक भए पनि उनलाई कम्पनीको स्थायी सीईओ बन्न सक्ने प्रमुख दाबेदारका रूपमा हेरिएको छ।
