काठमाडौं: राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गअन्तर्गत चितवन राष्ट्रिय निकुञ्जभित्र नयाँ सडक खण्ड निर्माणको प्रक्रिया अघि बढेको छ। हुलाकी राजमार्ग निर्देशनालयले ७.८१३ किलोमिटर लामो रिउखोला (बनकट्टा)-देउराली-नयाँपुल-ध्रुवघाट-जगतपुर सडक खण्डको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पेस गरेको छ। यो सडकले माडी र भरतपुर महानगरपालिकालाई जोड्ने छ।
प्रस्तावित सडक निर्माण भएपछि हालको तुलनामा यात्रा दूरी २.८९ किलोमिटरले घट्नेछ। १२ मिटर चौडाइ रहने यो सडकको ७ मिटर भागमा कालोपत्रे गरिनेछ। सडक निर्माणका लागि निकुञ्जको १९.३७ हेक्टरसहित कुल २१.४४ हेक्टर जमिन आवश्यक पर्ने र १ हजार ९ सय ९५ वटा रुख काट्नुपर्ने प्रतिवेदनमा उल्लेख छ। क्षतिपूर्तिका लागि १९ हजार ९ सय ५० वटा बिरुवा रोप्नुपर्ने वा सोबापतको रकम निकुञ्ज कार्यालयलाई बुझाउनुपर्ने प्रस्ताव छ।
वन्यजन्तुको सुरक्षाका लागि सडकमा कडा मापदण्ड प्रस्ताव गरिएको छ। संवेदनशील स्थानमा ८ वटा अन्डरपास, २ वटा पुल र ४ वटा बक्स कल्भर्ट निर्माण गरिनेछ। साथै, सडक किनारमा तारबार लगाइनेछ। निकुञ्ज क्षेत्रभित्र सवारीसाधनको अधिकतम गति ४० किलोमिटर प्रतिघण्टा तोकिएको छ भने हर्न बजाउन निषेध गरिएको छ। रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ भने निर्माण कार्य पनि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मात्र गर्न पाइनेछ। नियम पालना भए नभएको अनुगमन गर्न स्वचालित ट्राफिक प्रणाली र सीसीटीभी जडान गरिनेछ।
वातावरण संरक्षण तथा व्यवस्थापनका लागि आयोजनाले ६ करोड ७ लाख ३३ हजार ७३२ रुपैयाँ बजेट प्रस्ताव गरेको छ। मन्त्रालयबाट प्रतिवेदन स्वीकृत भएपछि निर्माण कार्यको बाटो खुल्नेछ।
