काठमाडौं: मुस्ताङस्थित कोरला भन्सार कार्यालयले चालु आर्थिक वर्षको चार महिनामै वार्षिक लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ। आर्थिक वर्ष २०८३/८४ का लागि ९ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको कार्यालयले कात्तिक मसान्त नहुँदै १२ अर्ब ५५ करोड १४ लाख ५३ हजार २ सय २२ रुपैयाँ राजस्व संकलन गरेको हो।
भन्सार प्रमुख अनन्त तिम्सिनाका अनुसार कात्तिक २६ गतेसम्म यस नाकाबाट २ हजार ६ सय ३ वटा मालवाहक कन्टेनर नेपाल भित्रिएका छन्। पछिल्लो तीन महिनामा मात्रै ६ हजार ८ सय २९ वटा विद्युतीय सवारीसाधन (ईभी) र तिनका पार्टपुर्जा आयात भएको कार्यालयले जनाएको छ। नाकाबाट तयारी पोसाक, चिनियाँ कपडा, जुत्ता-चप्पल, झोला र स्मार्ट कार्डलगायतका सामग्री ठूलो मात्रामा आयात भइरहेका छन्।
राजस्व संकलनमा उल्लेख्य वृद्धि भए पनि नाकामा पूर्वाधारको अभावले चुनौती थपिएको छ। भन्सार प्रमुख तिम्सिनाका अनुसार पर्याप्त भन्सार यार्ड, गोदाम र कर्मचारी आवासको अभाव छ। नियमित विद्युत् आपूर्तिसँगै सोलार र इन्भर्टरको व्यवस्थापन गर्नुपर्ने आवश्यकता देखिएको छ। साथै, भन्सारमा क्वारेन्टिन, अध्यागमन र बैंकजस्ता आवश्यक निकायको उपस्थिति नहुँदा काममा जटिलता आउने गरेको छ। तिम्सिनाले भने, ‘भन्सारमा क्वारेन्टिन, इमिग्रेसन, बैंकलगायत अन्य सरकारी तथा सहयोगी निकाय छैनन्, जसका कारण भन्सारका कार्य सञ्चालनमा समस्या आउने गरेका छन्।’
यसैबीच गण्डकी प्रदेशकै अर्को नाका नवलपुरस्थित त्रिवेणी भन्सारमा भने व्यावसायिक आयात न्यून छ। यहाँबाट मुख्यतः चामल, दाल, मकै र आलुलगायतका दैनिक उपभोग्य वस्तु मात्र भित्रिने भएकाले राजस्व संकलन पनि कम रहेको छ।
