काठमाडौं। स्थानीय उत्पादनमा वृद्धि भएपछि नेपाल केरामा आत्मनिर्भर बनेको छ ।
सरकारले आयातमा कडाइ गरेपछि किसान व्यावसायिक खेतीतर्फ आकर्षित हुँदा वार्षिक करिब ९ लाख मेट्रिक टन केरा उत्पादन हुन थालेको नेपाल केरा उत्पादक महासङ्घले जनाएको छ ।
महासङ्घका अध्यक्ष विष्णुहरि पन्तका अनुसार विगतमा वार्षिक करिब २ लाख मेट्रिक टन केरा अपुग हुने गरेकोमा अहिले स्वदेशी उत्पादनले बजारको माग धान्न थालेको छ । सरकारले २०८२ असोज ६ गतेदेखि आयातमा कडाइ गरेपछि नेपाली उत्पादनले बजार पाउने अवस्था बनेको उनको भनाइ छ ।
उत्पादन बढेसँगै केराको मूल्यसमेत घटेको छ । अहिले किसानले प्रतिदर्जन ५० देखि ६० रुपैयाँसम्म पाउने गरेका छन् । मुलुकभर करिब १५ हजार हेक्टर क्षेत्रफलमा केरा खेती हुँदै आएको छ ।
यसैबीच, छठ पर्वका कारण बजारमा केरा र स्याउको माग बढेको छ । फलफूल व्यवसायी सङ्घका अनुसार अहिले केराको मूल्य प्रतिदर्जन १२० देखि १५० रुपैयाँ र स्याउको मूल्य प्रतिकेजी १९० देखि २५० रुपैयाँसम्म रहेको छ । स्थानीय उत्पादनले माग धान्न नसक्दा स्याउ भने भारत र चीनबाट आयात गर्नुपर्ने अवस्था रहेको सङ्घले जनाएको छ ।
महासङ्घले उत्पादन थप विस्तार गर्दै आगामी दुई वर्षभित्र केरा निर्यात गर्न सक्ने अवस्था बनाउने लक्ष्य राखेको छ ।
