म्याग्दी। म्याग्दी नदीमा आएको बाढीले क्षति पुर्याएर अवरुद्ध बनेको बेनी–दरबाङ–मुना सडक खुलाउन मर्मतको काम अघि बढाइएको छ ।
मालिका गाउँपालिकास्थित बालौटेमा नदी कटानका कारण करिब एक सय मिटर सडक बगाएपछि यातायात ठप्प भएको थियो ।
सडक सञ्चालनका लागि प्रदेश सरकार, स्थानीय तह र निर्माणाधीन जलविद्युत् आयोजनाको सहकार्यमा नदी किनारबाट अस्थायी मार्ग खोल्ने तयारी गरिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार क्षतिग्रस्त सडकको दुवैतर्फ ग्रेड डाउन गरी ग्याबिन जालीसहित नयाँ ट्र्याक निर्माण गरिनेछ । यसका लागि प्रदेश सरकारले २५ लाख रुपैयाँ उपलब्ध गराएको छ । १५ दिनभित्र एकतर्फी यातायात सञ्चालन गर्ने लक्ष्य राखिए पनि चाडपर्वका कारण काममा ढिलाइ भएको थियो ।
सडक लामो समय बन्द हुँदा स्थानीय बासिन्दा र जलविद्युत् आयोजनालाई ढुवानीमा समस्या भएको छ । दीर्घकालीन समाधानका लागि थप २ करोड २२ लाख रुपैयाँ बजेट माग गरिएको छ ।
यसअघि वैकल्पिक सडकबाट यातायात सञ्चालन गरिए पनि साँघुरो र कच्ची भएकाले ठूला सवारीसाधन आवतजावतमा कठिनाइ हुँदै आएको छ ।
