काठमाडौं । अप्पर तामाकोशी जलविद्युत् कम्पनीको खुद नाफा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा सामान्य घटेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार साउनदेखि असोजसम्म १ अर्ब ६५ करोड ५९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा १ अर्ब ६७ करोड ४६ लाख रुपैयाँ थियो । यस वर्ष विद्युत् बिक्रीबाट हुने आम्दानी बढे पनि वित्तीय खर्च उच्च हुँदा नाफा प्रभावित भएको हो ।
समीक्षा अवधिमा कम्पनीको विद्युत् बिक्री आम्दानी २.२८ प्रतिशतले वृद्धि भएर ३ अर्ब ९४ करोड २८ लाख रुपैयाँ पुगेको छ । सञ्चालन नाफासमेत बढेर २ अर्ब ८० करोड १० लाख रुपैयाँ कायम भएको छ ।
तर, वित्तीय खर्च अघिल्लो वर्षको १ अर्ब ४ करोड ५९ लाख रुपैयाँबाट बढेर १ अर्ब १४ करोड ७४ लाख रुपैयाँ पुगेको छ । कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ रहेको छ भने सञ्चित नोक्सानी १० अर्ब ९७ करोड ९४ लाख रुपैयाँ छ ।
४५६ मेगावाट क्षमताको आयोजना पूर्ण रूपमा सञ्चालनमा रहेको कम्पनीले जनाएको छ । पहिरोबाट क्षति पुगेका संरचनाको अधिकांश मर्मतसम्भार सम्पन्न भएको छ । दीर्घकालीन ऋणको ब्याजदर घटाएर स्थिर बनाइएकाले आगामी दिनमा वित्तीय खर्च कम हुने कम्पनीको अपेक्षा छ ।
यसैबीच, २०८१ असोज १२ गतेको पहिरोबाट भएको क्षतिको बीमा दाबी रकम अझै प्राप्त हुन बाँकी रहेको कम्पनीले जनाएको छ ।
