काठमाडौं: ओखलढुङ्गाको रुम्जाटारमा सुन्तला खेती सङ्कटमा परेको छ। केही वर्षअघिसम्म रुम्जाटारको पहिचानका रूपमा रहेको सुन्तला खेती अहिले मासिँदै गएको स्थानीय बासिन्दाले बताएका छन्। स्थानीय ७९ वर्षीय जगत्बहादुर गुरुङका अनुसार एक समय रुम्जाटारको सुन्तला पर्यटकको रोजाइ र कोसेलीका रूपमा निकै प्रख्यात थियो। तर अहिले अधिकांश बगैँचा उजाडिएका छन्।
यो वर्ष सुन्तला पाक्ने समय हुँदा पनि अधिकांश बोटमा फल लागेको छैन। स्थानीय प्रेमकुमार गुरुङका अनुसार बोटमा पात पहेँलो भएर झर्ने, हाँगा सुक्ने र थोरै लागेका दानामा पनि किरा लाग्ने समस्या देखिएको छ। अर्की किसान भगवती राजभण्डारीले पनि अधिकांश बोटमा फल नलागेको र फलेका दाना पनि कमजोर हुने गरेको बताए। किसान देवीकुमारी राईले मल र औषधी उपचार गर्दासमेत सुन्तलाका बोट जोगाउन नसकिएको गुनासो गरे।
निरन्तरको रोग र उत्पादनमा आएको गिरावटपछि किसानहरू विकल्प खोज्न बाध्य भएका छन्। केही किसानले सुन्तलाको ठाउँमा मेवा खेती सुरु गरेका छन् भने कोही परम्परागत कोदो र मकै खेतीमा फर्किएका छन्। स्थानीय युवा उद्धव गुरुङका अनुसार सुन्तला उत्पादन नभएपछि किसानहरू बोट काटेर फाल्न थालेका छन्। हेमन्ता राईले सुन्तला खेती मासिँदा किसानको आयआर्जनको माध्यम नै गुमेको बताए।
कृषि प्राविधिकहरूका अनुसार बोट बुढो हुनु र नयाँ बोटमा आवश्यक स्याहार तथा मलजल नपुग्दा रोगको प्रकोप बढेको हो। विभिन्न समयमा प्राविधिकहरूले अनुगमन गरे पनि सुन्तला मासिने क्रम रोकिएको छैन। उचित उपचार र प्रभावकारी प्रोत्साहन कार्यक्रमको अभावमा रुम्जाटारको पहिचानसँग जोडिएको सुन्तला खेती इतिहास बन्ने जोखिम बढेको छ।
