काठमाडौं: उच्च गुणस्तर र विशिष्ट बास्नाका लागि परिचित उदयपुरको रैथाने बासमती धानको खेती पछिल्लो समय संकटमा परेको छ। हाइब्रिड जातका धानप्रति कृषकको आकर्षण, सिँचाइको अभाव, रोगकिराको प्रकोप र उत्पादन लागतमा भएको वृद्धिले परम्परागत बासमती धान लोप हुने अवस्थामा पुगेको हो।
त्रियुगा नदीको तटीय क्षेत्रमा उत्पादन हुँदै आएको स्थानीय बासमती, करियाकामत र चनमचुर धानको खेती क्रमशः घट्दै गएको छ। अन्य धानको तुलनामा बासमती खेतीमा बढी समय र मेहनत लाग्ने तर उत्पादन कम हुने भएकाले कृषकहरू यसबाट विमुख भएका हुन्। स्थानीय कृषक सोमबहादुर दनुवारका अनुसार कृत्रिम बास्ना मिसाइएका आयातित चामलले बजार ओगटेपछि रैथाने धानको माग र उत्पादन दुवैमा असर परेको छ। चौदण्डीगढी नगरपालिका-१० का कृषक हरिप्रसाद पौडेलले उत्पादनमा कमी आएकाले अहिले घरायसी उपभोगका लागि मात्र थोरै जमिनमा यसको खेती गर्ने गरिएको बताएका छन्।
खेतीयोग्य जमिनको खण्डीकरण र उत्पादनमा आएको ह्रासले परम्परागत खेती खुम्चिएको छ। त्रियुगा नगरपालिका-९ का वडाध्यक्ष राजकुमार दनुवारका अनुसार विगतमा ठूलो परिमाणमा हुने बासमती खेती अहिले निकै थोरै जग्गामा सीमित छ। हाल स्थानीय बजारमा रैथाने बासमती चामल प्रतिकिलोग्राम करिब रु १३० मा बिक्री भइरहेको छ।
कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ मा जिल्लाको १२ हजार ८७७ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ। गत आर्थिक वर्ष २०८२/८३ मा १२ हजार ९१२ हेक्टरमा खेती हुँदा ३१ हजार ३१८ मेट्रिक टन धान उत्पादन भएको थियो। जिल्लाको धान खेती हुने कूल क्षेत्रफलमध्ये सात हजार ३०३ हेक्टरमा मात्र सिँचाइ सुविधा उपलब्ध छ। त्रियुगा नगरपालिकाका कृषि शाखा प्रमुख माधव राउत र अग्रज कृषक नारायणबहादुर बस्नेतले जलवायु परिवर्तनका कारण खोलानाला सुक्नु र पशुपालन घट्दा कम्पोस्ट मलको अभाव हुनुले रैथाने धानको उत्पादनमा ठूलो धक्का पुगेको बताएका छन्। सिँचाइ, गुणस्तरीय बीउ र संरक्षणका ठोस कार्यक्रम नभए रैथाने बासमतीको मौलिक पहिचान गुम्ने जोखिम बढेको छ।
