काठमाडौं: अर्घाखाँचीका एक किसानले आफ्नो बारीमा पाक्दै गरेको बाली र फलफूल बाँदर तथा वन्यजन्तुबाट जोगाउन नयाँ प्रविधिको प्रयोग गर्नुभएको छ। सन्धिखर्क नगरपालिका-८, किमडाँडाका पिताम्बर भुसालले आफ्नो एक बिघा क्षेत्रफलको बारीमा तीन वटा सिसी क्यामेरा जडान गर्नुभएको छ। बाँसको खम्बामा राखिएका ती क्यामेराले बारीको अधिकांश क्षेत्रको निगरानी गर्छन्।
क्यामेराले बारीमा बाँदर वा वन्यजन्तु प्रवेश गरेको जानकारी भुसालको मोबाइल र ल्यापटपमा तत्काल दिन्छन्। सूचना पाउनासाथ उहाँ बारीतर्फ दौडेर होहल्ला गर्दै बाँदर लखेट्नुहुन्छ। भुसालले भन्नुभयो, “बिहानदेखि साँझसम्म बारीको छेउमा चौकीदारी गरेर मात्र भएन, घर र मेलापातको काम पनि गर्नु पर्छ। बाँदर बारीमा पस्न थालेको जानकारी पाउनासाथ होहल्ला गर्दै दौडेर लखेट्छु।”
उहाँको बारीमा ५० वटा आँपका बोट छन्, जसबाट यस वर्ष करिब ५० क्विन्टल आँप उत्पादन भएको थियो। आँप बिक्रीबाट वार्षिक चारदेखि छ लाख रुपियाँसम्म आम्दानी हुने गरेको उहाँले बताउनुभयो। सिसी क्यामेरा जडान गरेपछि परिवारका सदस्यले पालैपालो चौकीदारी गर्नुपर्ने बाध्यता हटेको छ। रातिको समयमा पनि क्यामेरा सक्रिय रहने र मानिस वा वन्यजन्तु प्रवेश गरेमा मोबाइलमा सूचना आउने गर्दछ।
सात वर्ष वैदेशिक रोजगारीमा बिताउनुभएका भुसालले विदेशमा सिकेको अनुभव र युट्युबको सहयोगमा यो प्रविधि जडान गर्नुभएको हो। उहाँले बाँदेल र मानिसको प्रवेश रोक्न बारी वरिपरि बार पनि लगाउनुभएको छ। हाल उहाँका दाइ ठाकुर भुसालसहितको परिवार कृषि कर्ममा संलग्न छ। “अब विदेश जान्नँ, कृषि उद्यममै भविष्य देखेको छु,” भुसालले भन्नुभयो, “आँपखेती विस्तार गरेर पाँच सय क्विन्टल फल दिने आँपका बोट पुर्याउने योजना छ।”
