धनकुटा: धनकुटा नगरपालिका-९, छिम्सुवाका किशोर भण्डारीले तमोर नदीको बगरमा व्यावसायिक ड्रागन फ्रुट खेती गरेर राम्रो आम्दानी लिन सफल भएका छन्। तीन वर्षअघि करिब पाँच रोपनी जग्गामा ३०० बिरुवाबाट सुरु गरिएको उक्त खेती अहिले नौ रोपनीमा विस्तार भएको छ। बलौटे र सुक्खा जमिनमा पनि मेहनत गरेर व्यावसायिक सफलता प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण भण्डारीले प्रस्तुत गरेका छन्।
सुरुआती चरणमा ड्रागन फ्रुट प्रतिकिलो ५०० रुपैयाँसम्ममा बिक्री भएको थियो भने अहिले सिजनअनुसार २५० देखि ३०० रुपैयाँसम्ममा बिक्री भइरहेको छ। ग्राहकहरू आफैं बगानमा आएर फल खरिद गर्ने गरेकाले बजारको समस्या नरहेको भण्डारी बताउँछन्। ड्रागन फ्रुटबाट प्राप्त सफलताले उनलाई अन्य बालीतर्फ पनि आकर्षित गरेको छ। हाल उनले करिब पाँच रोपनीमा ५०० बोट एप्पल बयर, १५ रोपनीमा स्थानीय मालभोग र जी-नाइन जातको केरा खेती गरिरहेका छन्। यसबाहेक उनले म्याकाडेमिया, आँप, एभोकाडो र टमाटर खेतीसमेत सुरु गरेका छन्।
कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र राना मगरका अनुसार जिल्लाका सुक्खाग्रस्त क्षेत्रमा ड्रागन फ्रुट खेतीप्रति आकर्षण बढ्दो छ। केन्द्रले किसानलाई प्राविधिक परामर्श र विशेषज्ञ सेवा उपलब्ध गराउँदै आएको छ। सिँचाइको चुनौती समाधान गर्न संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को आर्थिक तथा पर्डेप नेपालको प्राविधिक सहयोगमा पोखरी निर्माण गरिएको छ।
भण्डारीको कृषि उद्यमले स्थानीय स्तरमा रोजगारीका अवसर पनि सिर्जना गरेको छ। हाल वार्षिक १५ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका भण्डारीले आगामी दुईदेखि चार वर्षभित्र वार्षिक दुईदेखि चार करोड रुपैयाँसम्मको कारोबार पुर्याउने लक्ष्य राखेका छन्।
