काठमाडौं: अन्तर्राष्ट्रिय वित्तीय पत्रिका ग्लोबल फाइनान्सले सार्वजनिक गरेको सेन्ट्रल बैंकर रिपोर्ट कार्ड्स २०२६ मा नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले बी-ग्रेड प्राप्त गरेका छन्। सन् २०२५ जुलाई १ देखि २०२६ जुन ३० सम्मको कार्यसम्पादनमा आधारित उक्त प्रतिवेदनले १०५ देशका केन्द्रीय बैंकका गभर्नरहरूको मूल्यांकन गरेको हो।
गभर्नर पौडेलले बाह्य क्षेत्रको स्थायित्व सुदृढ बनाउँदै मूल्यवृद्धि नियन्त्रणमा राख्न सफल भएको प्रतिवेदनमा उल्लेख छ। विप्रेषण आप्रवाहमा भएको वृद्धिले विदेशी विनिमय सञ्चिति २४ अर्ब अमेरिकी डलर नाघेको छ, जसले करिब १९ महिनाको आयात धान्न सक्ने आधार तयार पारेको छ। पौडेलले अपनाएको लचिलो मौद्रिक नीतिले आर्थिक वर्ष २०२५-२६ मा ३.८५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सहयोग पुर्याएको छ।
यद्यपि, आन्तरिक कर्जा विस्तार हुन नसक्नुले उनलाई उच्च श्रेणीमा उक्लिनबाट रोकेको छ। बैंकिङ प्रणालीमा १० खर्ब रुपैयाँभन्दा बढी अधिक तरलता र न्यून ब्याजदर हुँदा पनि निजी क्षेत्रतर्फको कर्जा विस्तार वार्षिक ५ देखि ७ प्रतिशतमा सीमित छ, जुन १२ प्रतिशतको लक्ष्यभन्दा निकै कम हो। ग्लोबल फाइनान्सले वित्तीय क्षेत्रको सुपरिवेक्षण क्षमता सुदृढ पार्नु र नेपाललाई वित्तीय कारबाही कार्यदल (एफएटीएफ) को ग्रे लिस्टबाट बाहिर निकाल्नु गभर्नर पौडेलको प्रमुख प्राथमिकता हुनुपर्ने औंल्याएको छ।
दक्षिण एसियाली छिमेकीहरूमध्ये भारतका गभर्नर सञ्जय मल्होत्रा ए-ग्रेडसहित शीर्ष स्थानमा छन्। श्रीलंकाका नन्दलाल वीरासिङ्घेले बी-प्लस र पाकिस्तानका जमिल अहमदले बी-माइनस ग्रेड पाएका छन्। यस वर्ष डेनमार्क र पेरुका गभर्नरले मात्र सर्वोत्कृष्ट ए-प्लस ग्रेड हासिल गरेका छन्। नेपाल राष्ट्र बैंकका अघिल्ला गभर्नर महाप्रसाद अधिकारीले सन् २०२२ मा सी-ग्रेड र सन् २०२३ मा बी-माइनस ग्रेड प्राप्त गरेका थिए।
