काठमाडौं: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाल बैंक लिमिटेडलाई वित्तीय तथा आर्थिक अनुशासन कायम गर्दै खराब कर्जा असुलीमा विशेष ध्यान दिन निर्देशन दिएका छन्। बैंकको ९०औँ वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै उनले बैंकलाई अनुत्पादक क्षेत्रमा लगानी नगर्न आग्रह गरेका हुन्।
अर्थमन्त्री वाग्लेले नेपालको बैंकिङ क्षेत्रमा गौरवमय इतिहास बोकेको यस बैंकले सुशासनको उच्च मापदण्ड कायम गर्दै डिजिटल रूपान्तरणमार्फत सरल र सहज बैंकिङ सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिए। उनले सरकारले वित्तीय क्षेत्र सुधारका लागि अघि सारेका तीन बुँदे कार्यसूची पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने बताए।
बैंकको काम कारबाही पारदर्शी बनाई जनविश्वास कायम राख्न, संस्थागत कमजोरी सुधार गर्न तथा तथ्याङ्कको सुरक्षामा विशेष ध्यान दिनुपर्ने उनले उल्लेख गरे। आगामी दिनमा डिजिटल बैंकिङको विस्तार, लघु, साना तथा मझौला उद्यमलाई सहज वित्तीय पहुँच, हरित अर्थतन्त्रको प्रवर्द्धन तथा वित्तीय साक्षरता अभिवृद्धिमा बैंकले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले स्थापनाकालदेखि नै यस बैंकले बचत संस्कृतिको विकास, आर्थिक स्रोत परिचालन र पुँजी निर्माणका साथै मुलुकको औद्योगिक तथा व्यापार व्यवसायको विकासमा उल्लेखनीय योगदान पुर्याएको बताए।
