भक्तपुर: बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भोटेकोशी बाढीबाट प्रभावित जिल्लाहरूमा पुनर्निर्माण र पुनःस्थापनाको काम तत्काल सुरु गरिने बताएका छन्।
सोमबार भक्तपुरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री थापामगरले रसुवा, नुवाकोट, धादिङ र चितवनका बाढी प्रभावित क्षेत्रमा काम अघि बढाउन प्रदेश सरकारले ६ अर्ब रुपैयाँ विनियोजन गरेको जानकारी दिए। गत भदौ १० गते आएको बाढीले पुर्याएको क्षतिलाई मध्यनजर गर्दै सरकारले सो बजेट व्यवस्था गरेको हो।
मुख्यमन्त्री थापामगरका अनुसार सरकारले अन्य विकास आयोजनाका लागि छुट्याइएको बजेट कटौती गरी विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणमा प्राथमिकता दिएको छ। सरकारको मुख्य ध्यान बाढीबाट प्रभावित नागरिकको आवास, क्षतिग्रस्त भौतिक संरचना र आधारभूत पूर्वाधारको पुनर्निर्माणमा केन्द्रित हुनेछ।
सो अवसरमा मुख्यमन्त्री थापामगरले भने, “हामी पीडितलाई न्याय दिन प्रतिबद्ध छौँ। रसुवा बाढीका कारण घरवारविहीन हुनुभएका, आफन्तजन गुमाउनुकाको भौतिक रूपमा पुनःस्थापना तथा पीडितलाई पर्न सक्ने मनोवैज्ञानिक प्रभाव न्यूनीकरण, नीतिगत क्षमता विकास, अधिकार प्रत्याभूत, उत्तरदायित्व बहनलगायत विषयमा गम्भीर भएर अगाडि बढेका छौँ।” प्रदेश सरकारले क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणलाई तीव्रता दिने र प्रभावितहरूलाई राहत उपलब्ध गराउने गरी योजना बनाएको उनले स्पष्ट पारेका छन्।
