काठमाडौं: सुनसरीको धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्थाको १० अर्ब ७३ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोपमा मुख्य व्यक्ति शिवकुमार विश्वकर्मा (लामिछाने) पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई पक्राउ गरेको गृहमन्त्री सुधन गुरुङले जानकारी दिएका छन्।
बराह सहकारी र यससँग सम्बन्धित दुई दर्जनभन्दा बढी कम्पनीहरूले १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९१३ रुपैयाँ हिनामिना गरेको भन्दै सुनसरी जिल्ला अदालतमा मुद्दा विचाराधीन छ। २०८१ फागुनमा दर्ता भएको अभियोग पत्रअनुसार सहकारीका अध्यक्ष लामिछानेबाट मात्र ५ अर्ब ८८ करोड ४० लाख ८४ हजार ७३३ रुपैयाँ असुल गर्नुपर्ने उल्लेख छ।
अभियोग पत्रमा शिवकुमार स्वयम्, उनका बुबा इन्द्रकुमार विश्वकर्मा, आमा विष्णुमाया विश्वकर्मा, मन्दिरा लामिछाने, मानबहादुर विश्वकर्मा, हरिकुमार धमाल, प्रकाश लामगादे र शुभराज खातीसहित ३५ जनालाई प्रतिवादी बनाइएको छ। उनीहरूविरुद्ध सहकारी ऐन २०७४ र संगठित अपराध निवारण ऐन २०७० अन्तर्गत कारबाहीको माग गरिएको छ।
एक चार्टर्ड एकाउन्टेनको प्रतिवेदनअनुसार सहकारीका सञ्चालकहरूले आफ्नो नाममा रहेका २५ वटा कम्पनीमार्फत ९ अर्ब ६२ करोड ५८ लाख २६ हजार ९७३ रुपैयाँ लगेका थिए। यसमा बराह ज्वेलरी, बराह इण्डष्ट्रिज, बराह मोटर्स र बराह डिपार्टमेन्ट स्टोरलगायतका कम्पनीहरू समावेश छन्।
२०५२ सालमा स्थापित बराह ज्वेलरीले हङकङ र दुबईसम्म शाखा विस्तार गरेको थियो भने २०६६ सालमा सहकारी स्थापना भएको थियो। २०७८ मंसिरदेखि बचतकर्ताको रकम फिर्ता गर्न छाडेपछि सहकारी आर्थिक संकटमा परेको थियो। धरान उपमहानगरपालिकाले २०७९ भदौ २२ गते नै यसलाई संकटग्रस्त घोषणा गरेको थियो। हालसम्म ४ हजार १६८ जना बचतकर्ताले आफ्नो रकम फिर्ता पाउनुपर्ने माग गर्दै जाहेरी दिएका छन्।
