सुर्खेत: सुर्खेतको चौकुने गाउँपालिका-९ सुनाकाँडामा सूर्यतारा सिमेन्ट उद्योगको भौतिक संरचना निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ। हाल उद्योगको क्रसर प्लान्ट र आवास लगायतका संरचना निर्माणमा २५० जना मजदुर कार्यरत छन्। करिब ५०० रोपनी निजी जग्गामा फैलिएको यस आयोजनाको लागत १५ अर्ब रुपियाँ रहेको छ।
आयोजनाका प्रोजेक्ट हेड सञ्जय मिश्राका अनुसार उद्योगको संरचना निर्माण र माटो परीक्षणको काम भइरहेको छ। आगामी १८ महिनाभित्र निर्माण सम्पन्न गरी उद्योग सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। उद्योग पूर्ण रूपमा सञ्चालनमा आएपछि दैनिक ५० हजार बोरा सिमेन्ट उत्पादन हुने र एक हजार जनाले प्रत्यक्ष रोजगारी पाउने अनुमान गरिएको छ।
उद्योगका लागि चाहिने चुनढुंगा बराहताल गाउँपालिका-७ लखरपाटाबाट उत्खनन् गरिनेछ, जुन स्थान उद्योग स्थलबाट २४ किलोमिटरको दूरीमा रहेको छ। यद्यपि, उद्योग स्थलसम्म पुग्ने सडकको दयनीय अवस्था र पुलको अभावले निर्माण सामग्री ढुवानीमा कठिनाइ भइरहेको मिश्राले बताउनुभयो। विशेषगरी गुटुखोलामा पुल नहुनु र सडकको अवस्था नाजुक हुँदा थप चुनौती थपिएको छ।
प्रदेश सरकारले उद्योगसम्म पहुँच पुर्याउन लखरपाटादेखि मदन भण्डारी राजमार्गको खम्बागाडेसम्म १० किलोमिटर सडक निर्माण गरेको छ। पूर्वाधार विकास निर्देशनालयका अनुसार ५० लाख रुपियाँ बजेटमा सडकको ट्रयाक खोल्ने, नाला, टेवा पर्खाल र ग्रावेलको काम सम्पन्न भएको छ।
चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विकले यो उद्योग पालिकाको आर्थिक समृद्धिका लागि कोशेढुंगा सावित हुने बताउनुभयो। उहाँले सडक स्तरोन्नति र पुल निर्माणका लागि स्थानीय तहको स्रोतले नभ्याउने भएकाले प्रदेश सरकारको थप सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो। स्थानीय सरकारले सडकको ट्रयाक खोल्ने लगायतका समन्वयकारी भूमिका निर्वाह गरिरहेको छ।
