काठमाडौं: सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद प्रक्रियामा संलग्न श्रमिकहरूको पारिश्रमिक र सामाजिक सुरक्षासम्बन्धी व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न सरोकारवाला निकायलाई आग्रह गरेको छ।
कार्यालयले एक सूचना जारी गर्दै सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि, २०८३ को पूर्ण पालना गर्न निर्देशन दिएको हो। मन्त्रिपरिषद्बाट गत कात्तिक १७ गते स्वीकृत भएको सो कार्यविधिले श्रमिकको हकहित र सुरक्षालाई प्राथमिकतामा राखेको छ।
कार्यालयले सम्बन्धित निकायहरूलाई आफ्नो निर्णयअनुसार कार्यविधिमा उल्लेखित प्रावधानहरूबमोजिम श्रमिकको पारिश्रमिक भुक्तानी र सामाजिक सुरक्षासम्बन्धी आवश्यक प्रक्रियाहरू अघि बढाउन अनुरोध गरेको छ। सार्वजनिक खरिद प्रक्रियामा संलग्न श्रमिकहरूको अधिकार सुनिश्चित गर्न यो व्यवस्था लागू गरिएको कार्यालयले जनाएको छ।
