काठमाडौं: नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ‘वैकल्पिक लगानी कोष नियमावली, २०८३’ को मस्यौदा सार्वजनिक गरेको छ। बोर्डले यसअघिको विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ लाई अन्तर्राष्ट्रिय अभ्यासअनुरूप परिमार्जन गर्दै नयाँ नियामकीय संरचना प्रस्ताव गरेको हो।
यसको मुख्य उद्देश्य नेपालमा प्राइभेट इक्विटी र भेन्चर क्यापिटललगायतका कोषलाई संस्थागत स्वरूप प्रदान गरी निजी पुँजी परिचालन बढाउनु रहेको छ। प्रस्तावित नियमावलीमा कोषलाई कम्पनी, ट्रष्ट वा सीमित दायित्व साझेदारी संरचनामा सञ्चालन गर्न सकिने व्यवस्था छ। कोष व्यवस्थापकको न्यूनतम चुक्ता पुँजी रु ५ करोड हुनुपर्ने प्रस्ताव गरिएको छ, जुन हाल रु २ करोड छ। पुराना व्यवस्थापकलाई यो सीमा पूरा गर्न तीन वर्षको समय दिइनेछ।
कोषको न्यूनतम आकार रु १५ करोड तोकिएको छ भने इकाइधनीको संख्या अधिकतम २०० रहनेछ। कोषको अवधि ५ देखि १५ वर्षसम्म कायम रहने प्रस्ताव गरिएको छ। लगानी विविधीकरणका लागि एउटै कम्पनी वा क्षेत्रमा कुल लगानीयोग्य रकमको अधिकतम २५ प्रतिशतसम्म मात्र लगानी गर्न पाइनेछ।
कोषमा बैंक, बीमा कम्पनी, संस्थागत लगानीकर्ता, विदेशी लगानीकर्ता तथा नेपाली नागरिकले लगानी गर्न सक्नेछन्। विदेशी कोषले नेपालमा सहायक कम्पनी स्थापना गरेर वा स्थानीय व्यवस्थापकमार्फत काम गर्न पाउनेछन्। बोर्डले सात दिनभित्र सरोकारवाला निकायबाट राय तथा सुझाव माग गरेको छ। सुझावका आधारमा नियमावलीलाई अन्तिम रूप दिइने बोर्डले जनाएको छ।
