काठमाडौं । एनसेलले पुरानो प्रविधिलाई विस्थापित गर्दै आधुनिक दूरसञ्चार सेवा विस्तार गर्ने उद्देश्यसहित थ्रीजी सेवा पूर्ण रूपमा बन्द गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ। कम्पनीले आगामी एक महिनाभित्र बाँकी रहेका २ हजार १३७ थ्रीजी साइटसमेत बन्द गर्ने योजना कार्यान्वयनमा ल्याएको हो।
एनसेलका कुल ३ हजार १२९ थ्रीजी साइटमध्ये हालसम्म ९९२ वटा बन्द भइसकेका छन्। बाँकी ६८ प्रतिशत अर्थात् २ हजार १३७ साइटलाई चार चरणमा बन्द गरिने कम्पनीले जनाएको छ।
योजनाअनुसार पहिलो चरणमा मंसिर ७ गते लुम्बिनी र गण्डकी प्रदेशका थ्रीजी साइट बन्द गरिनेछन्। दोस्रो चरणमा मंसिर १४ गते काठमाडौं, ललितपुर र भक्तपुरका साइट बन्द हुनेछन्। त्यसैगरी, तेस्रो चरणमा मंसिर २१ गते मधेश र गण्डकी प्रदेशका बाँकी स्थान तथा चितवनमा थ्रीजी सेवा बन्द गरिनेछ। चौथो तथा अन्तिम चरणमा मंसिर २६ गते मधेश र कोशी प्रदेशका बाँकी साइट बन्द गरिने कम्पनीले जनाएको छ।
२०७४ सालमा सुरु भएको एनसेलको थ्रीजी सेवा आगामी पुस २ गतेदेखि पूर्ण रूपमा बन्द हुनेछ। यससँगै कम्पनीले फोरजी नेटवर्कलाई थप सुदृढ बनाउँदै भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे) प्रविधिमा आधारित सेवा विस्तार गर्नेछ।
भोल्टे प्रविधिमार्फत ग्राहकले अझ स्पष्ट आवाजमा भ्वाइस कल गर्न र छिटो कल कनेक्सनको अनुभव लिन सक्नेछन्। साथै, फोनमा कुरा गरिरहेकै अवस्थामा पनि फोरजी डेटा प्रयोग गर्न सकिनेछ। यो सेवा प्रयोग गर्न फोरजी सिम र भोल्टे सपोर्ट गर्ने मोबाइल आवश्यक पर्नेछ।
एनसेलकी नेटवर्क प्रमुख लेना केशरी कंसाकारले पुरानो प्रविधिको सट्टा नयाँ, छिटो र प्रभावकारी प्रविधिमा रूपान्तरण गर्न थ्रीजी सेवा बन्द गर्ने निर्णय गरिएको बताइन्। उनका अनुसार यसले पुराना प्रणालीको सञ्चालन तथा मर्मतसम्भार खर्च घटाउनुका साथै फोरजी नेटवर्कको क्षमता अभिवृद्धि गर्न सहयोग पुर्याउनेछ।
उनले थ्रीजी सेवा बन्द भएपछि भोल्टेसहितको फोरजी नेटवर्कलाई थप सुदृढ बनाउन र भविष्यमा फाइभजी प्रविधि भित्र्याउन आवश्यक तयारी गर्न सहज हुने बताइन्। साथै, थ्रीजी सेवा बन्द हुँदा कुनै पनि ग्राहक आधारभूत दूरसञ्चार सेवाबाट वञ्चित नहुने गरी व्यवस्था मिलाइएको उनको भनाइ छ।
थ्रीजी सेवा बन्द भए पनि फोरजीमा अपग्रेड नभएका ग्राहकले टुजी नेटवर्कमार्फत आधारभूत भ्वाइस कल र एसएमएस सेवा प्रयोग गर्न सक्नेछन्। एनसेलको फोरजी सेवा हाल नेपालको करिब ९५ प्रतिशत जनसंख्यामा पुगिसकेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार हाल सक्रिय ग्राहकहरूमध्ये करिब पाँच प्रतिशतले अझै फोरजी सिम प्रयोग गरेका छैनन्। त्यस्ता ग्राहकलाई लक्षित गर्दै एनसेलले निःशुल्क फोरजी सिम उपलब्ध गराउँदै आएको छ। ग्राहकले नजिकैको एनसेल सेन्टर वा प्वाइन्ट अफ सेल्समा गएर आफ्नो पुरानो सिम फोरजीमा अपग्रेड गर्न सक्नेछन्। यसरी सिम परिवर्तन गर्दा ग्राहकले सात दिन समयसीमा भएको दुई जीबी डेटा पनि निःशुल्क प्राप्त गर्नेछन्।
थ्रीजी सेवा बन्द भएपछि त्यसका लागि प्रयोग हुँदै आएको फ्रिक्वेन्सी फोरजी नेटवर्कमा पुनः प्रयोग गरिने एनसेलले जनाएको छ। यसबाट नेटवर्क क्षमता बढाउन, कनेक्टिभिटी सुधार गर्न, सेवा गुणस्तर अभिवृद्धि गर्न र सञ्चालन खर्च घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
