काठमाडौं: नेपाल बैंक लिमिटेडले आफ्नो ९०औँ वार्षिकोत्सवको अवसर पारेर ‘एनबीएल फोनलोन’ नामक नयाँ डिजिटल कर्जा सेवा सार्वजनिक गरेको छ। बैंकले आफ्नो मोबाइल बैङ्किङ एप ‘एनबीएल बैङ्कस्मार्ट एक्सपी’ मार्फत उक्त सेवा सञ्चालनमा ल्याएको हो।
यस सेवामार्फत बैंकका योग्य ग्राहकहरूले कुनै धितो नराखी वा बैंक शाखा नगई दुई लाख रुपैयाँसम्मको कर्जा प्राप्त गर्न सक्नेछन्। फोनलोन प्रालिको सहकार्यमा सुरु गरिएको यो सेवा पूर्ण रूपमा डिजिटल रहेको बैङ्कले जनाएको छ। कागजी प्रक्रिया झन्झटविना छिटो र सहज रूपमा कर्जा उपलब्ध गराउने उद्देश्यले यो सुविधा ल्याइएको हो।
कर्जाको सीमा र योग्यता बैंकले तोकेका निश्चित मापदण्डका आधारमा निर्धारण गरिनेछ। यसमा तलब जम्मा हुने खाताको नियमितता, ग्राहकको कर्जा चुक्ता गर्ने विगतको व्यवहार र हालको दायित्वलाई आधार मानिनेछ। कर्जा लिने ग्राहकले एक महिना वा १२ महिनासम्मको किस्ताबन्दी (ईएमआई) विकल्प छनोट गर्न सक्नेछन्। साथै, ग्राहकलाई कर्जाको पूर्वभुक्तानी गर्ने सुविधासमेत उपलब्ध छ। मोबाइल बैङ्किङ सेवा प्रयोग गरिरहेका ग्राहकले एपमार्फत नै आवेदन दिएर यो सेवा लिन सक्नेछन्।
