बुटवल: लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा कुल विनियोजित बजेटको १२.७४ प्रतिशत मात्र खर्च गरेको छ। प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार कात्तिक मसान्तसम्म सरकारले ४ अर्ब ७६ करोड १४ लाख रुपैयाँ खर्च गरेको हो।
प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँको बजेट ल्याएको थियो। यस अवधिमा चालुतर्फ १७ प्रतिशत र पुँजीगततर्फ करिब १० प्रतिशत बजेट खर्च भएको छ। पुँजीगततर्फ २२ अर्ब ७१ करोड ६५ लाख रुपैयाँ विनियोजन गरिएकोमा २ अर्ब १९ करोड १३ लाख रुपैयाँ खर्च भएको छ। त्यस्तै, १४ अर्ब ६६ करोड ७९ लाख रुपैयाँ चालु बजेटमध्ये २ अर्ब ५७ करोड २७ लाख रुपैयाँ खर्च भएको छ।
विकास निर्माणका काम हुने पुँजीगत खर्च सुस्त देखिएपछि बजेट कार्यान्वयनमा चुनौती थपिएको छ। यद्यपि, सरकारका प्रवक्ता एवं स्वास्थ्य मन्त्री रामजी घिमिरेले अहिलेको खर्चलाई अस्वाभाविक मान्न नहुने बताए। उनले ठेक्का प्रक्रिया र ठूला खर्चका प्रक्रिया भर्खरै सुरु भएकाले खर्च कम देखिएको स्पष्ट पारे।
मन्त्रालयगत विवरणअनुसार स्वास्थ्य मन्त्रालयले सबैभन्दा बढी २९.३३ प्रतिशत बजेट खर्च गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयले १२.३० प्रतिशत र आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयले १३.२६ प्रतिशत खर्च गरेका छन्। वन तथा वातावरण मन्त्रालयले १०.९५ प्रतिशत, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले ९.७७ प्रतिशत, सामाजिक विकास मन्त्रालयले ९.१५ प्रतिशत र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ८.८४ प्रतिशत खर्च गरेका छन्।
भौतिक पूर्वाधार विकास मन्त्रालयको खर्च ७.६९ प्रतिशत छ भने सहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको खर्च सबैभन्दा कम ४.५७ प्रतिशत रहेको छ। स्थानीय तहमा पठाउने बजेटतर्फ भने चार महिनामा २६.८१ प्रतिशत खर्च भएको छ।
