काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले लामो समयदेखि रोयल्टी, ग्रामीण दूरसञ्चार विकास कोष तथा त्यसमा लाग्ने थप दस्तुर र जरिवानासहितको बक्यौता नतिर्ने दूरसञ्चार सेवा प्रदायकलाई १५ दिनभित्र रकम बुझाउन निर्देशन दिएको छ।
प्राधिकरणले बक्यौता नबुझाएका तथा अनुमतिपत्र नवीकरण नगरेका सेवा प्रदायकलाई सार्वजनिक सूचना जारी गर्दै तोकिएको अवधिभित्र रकम चुक्ता गरी त्यसको जानकारी गराउन भनेको हो। प्राधिकरणका अनुसार सम्बन्धित सेवा प्रदायकले विगतका आर्थिक वर्षदेखि नेपाल सरकार तथा प्राधिकरणलाई नियमानुसार बुझाउनुपर्ने रोयल्टी, ग्रामीण दूरसञ्चार विकास कोषको रकम र त्यसमा लाग्ने थप दस्तुर तथा जरिवाना तिरेका छैनन्।
तोकिएको १५ दिनभित्र बक्यौता चुक्ता नगरे दूरसञ्चार ऐन, २०५३ को दफा २८ बमोजिम सम्बन्धित सेवा प्रदायकको अनुमतिपत्र खारेजी प्रक्रिया अघि बढाइने प्राधिकरणले चेतावनी दिएको छ। बाँकी रकम पनि प्रचलित कानुनबमोजिम असुल गरिने सूचनामा उल्लेख छ।
प्राधिकरणका अनुसार २० वटा इन्टरनेट सेवा प्रदायक कम्पनीले अनुमतिपत्र नवीकरण गरेका छैनन्। नवीकरण नगर्ने कम्पनीमा एलिसा कम्युनिकेसन लिङ्क, एरोनेट प्रालि, ब्रोडलिङ्क नेटवर्क एन्ड कम्युनिकेसन लिमिटेड, क्लासिक टेक प्राइभेट लिमिटेड, कम्युनिकेसन एन्ड कम्युनिकेट नेपाल प्राइभेट लिमिटेड, एभरेस्ट वायरलेस नेटवर्क प्राइभेट लिमिटेड, जीआरएस लिङ्क इन्टरनेट सर्भिस प्राइभेट लिमिटेड, आइजोन प्राइभेट लिमिटेड, कालिका नेट, खप्तड नेट, कनेक्ट नेपाल नेटवर्क, मर्केन्टाइल कम्युनिकेसन, नेक्स्ट गिकर्स प्राइभेट लिमिटेड, नम्बर नेटवर्क, पोखरा इन्टरनेट, सांग्रिला इन्फर्मेटिक्स, सुपर सितापाइला केबल नेट, टेकमाइन्ड्स नेटवर्क लिमिटेड, अल्ट्रानेट कम्युनिकेसन र वेब सर्फर नेपाल कम्युनिकेसन सिस्टम रहेका छन्।
त्यस्तै, नौ वटा कम्पनीलाई राजस्व बक्यौता बुझाउन १५ दिनको समय दिइएको छ। बक्यौता तिर्नुपर्ने कम्पनीमा बेनी कम्युनिकेसन्स, ब्रोड ब्यान्ड नेपाल, फस्र्टलिङ्क कम्युनिकेसन्स, क्षिरेश्वर नेटवर्क, लुम्बिनी म्याक्स डिजिटल केबल नेट, मेड इन्फो टेक, प्राइम नेटवर्क, सुबिसु लिमिटेड र युनिफाइड कम्युनिकेसन रहेका छन्। यी कम्पनीले पनि तोकिएको अवधिमा रकम नबुझाए अनुमतिपत्र खारेजी प्रक्रिया अघि बढाउने र बाँकी रकम कानुनअनुसार असुल गर्ने प्राधिकरणले जनाएको छ।
यसैबीच, प्राधिकरणले दूरसञ्चार सेवा प्रयोगकर्तालाई अनुमतिपत्र नवीकरण गरेका सेवा प्रदायकबाट मात्र सेवा लिन आग्रह गरेको छ। इन्टरनेट तथा अन्य दूरसञ्चार सेवा खरिद वा प्रयोग गर्नुअघि सम्बन्धित सेवा प्रदायकको अनुमतिपत्रको अवस्था यकिन गर्न र अनधिकृत वा नवीकरण नभएका सेवा प्रदायकबाट सेवा नलिन प्राधिकरणले उपभोक्तालाई सचेत गराएको छ।
