काठमाडौँ: सुरक्षण मुद्रण केन्द्रले बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा रु. एक करोड पाँच लाख सहयोग गरेको छ। केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले उक्त रकम बराबरको चेक आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरे। चेक हस्तान्तरण कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र सञ्चार सचिव राजेन्द्रप्रसाद पौडेललगायतको उपस्थिति थियो।
केन्द्रले आफ्नो आन्तरिक आम्दानीबाट उक्त रकम उपलब्ध गराएको जनाएको छ। पछिल्लो एक वर्षमा संस्थागत सुधार गर्दै केन्द्रले सवारी चालक अनुमतिपत्र र हुलाक टिकट छपाइलगायतका काममार्फत आफ्नो क्षमता विस्तार गरेको छ। केन्द्रका अनुसार लामो समयदेखि बाँकी रहेको २७ लाख थान सवारी चालक अनुमतिपत्र छ महिनाभित्रै छपाइ गरी यातायात व्यवस्था विभागलाई हस्तान्तरण गरिएको छ। स्वदेशमै छपाइ सुरु भएपछि विदेशी मुद्रा बचत हुनुका साथै सुरक्षण मुद्रण क्षेत्रमा नेपालको क्षमता विकास भएको केन्द्रको दाबी छ।
कार्यकारी निर्देशक ढुङ्गानाले आगामी दिनमा राष्ट्रिय परिचयपत्र, अन्तःशुल्क टिकट र नागरिकता प्रमाणपत्रलगायतका उच्च सुरक्षणयुक्त कागजात स्वदेशमै छपाइ गर्ने तयारी भइरहेको जानकारी दिए। अन्तःशुल्क टिकट छपाइका लागि आन्तरिक राजस्व विभागसँग कार्यढाँचा निर्माणको काम भइरहेको उनले बताए। संवेदनशील कागजात स्वदेशमै छपाइ गर्दा तथ्याङ्क सुरक्षा र राष्ट्रिय सार्वभौमिकता सुदृढ हुने तथा विदेशी आपूर्तिकर्तामाथिको निर्भरता घट्ने उनको भनाइ छ। सो अवसरमा अर्थमन्त्री वाग्ले र सञ्चारमन्त्री तिमिल्सिनाले केन्द्रको क्षमता विस्तारका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
