काठमाडौं: चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालको उपभोक्ता मूल्य सूचकाङ्क अर्थात् मुद्रास्फीति दरमा उल्लेख्य वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार असोज मसान्तसम्म औसत मुद्रास्फीति ६.२२ प्रतिशत पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति १.६७ प्रतिशत मात्र थियो। यस आधारमा महँगीदर गत वर्षको तुलनामा करिब ३.७ गुणाले बढेको हो।
असोज महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.३७ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको सोही महिनामा १.४७ प्रतिशत थियो। समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.०४ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.४६ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.५४ प्रतिशतले ऋणात्मक थियो।
खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेलको मूल्य १६.४४ प्रतिशत, फलफूलको १५.४६ प्रतिशत, चिनी तथा चिनीजन्य पदार्थको ११.८४ प्रतिशत, माछा तथा मासुको ८.९१ प्रतिशत, मरमसलाको ७.७१ प्रतिशत र तरकारीको ७.२८ प्रतिशतले बढेको छ। गैर-खाद्य तथा सेवा समूहमा यातायातको मूल्य १२.९७ प्रतिशत, मदिराजन्य पेय पदार्थको ८.८३ प्रतिशत, कपडा तथा जुत्ताचप्पलको ७.०६ प्रतिशत, फर्निसिङ्ग तथा घरायसी उपकरणको ६.०१ प्रतिशत र सुर्तीजन्य पदार्थको ५.४५ प्रतिशतले वृद्धि भएको छ।
भौगोलिक तथा प्रदेशगत आधारमा हेर्दा ग्रामीण क्षेत्रको मुद्रास्फीति ६.६३ प्रतिशत र सहरी क्षेत्रको ६.२८ प्रतिशत रहेको छ। प्रदेशगत रूपमा सबैभन्दा बढी मुद्रास्फीति मधेश प्रदेशमा ७.३७ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ५.१३ प्रतिशत देखिएको छ। त्यसैगरी, काठमाडौं उपत्यकाको मुद्रास्फीति ५.९२ प्रतिशत, तराईको ६.८८ प्रतिशत, पहाडको ६.१४ प्रतिशत र हिमालको ५.५७ प्रतिशत रहेको छ।
