काठमाडौं: सिरहाको लहानमा भारतको लौकहाबाट ठाडी नाका हुँदै दैनिक बिहानै ट्रकमा तरकारी भित्रिने गरेको छ। सीमा नाकामा क्वारेन्टाइन सुविधा नहुँदा भित्रिने तरकारीको स्वास्थ्य परीक्षण हुन सकेको छैन। जसका कारण उपभोक्ताहरू असुरक्षित तरकारी खान बाध्य छन्। भारतीय बजारबाट दैनिक चार ट्रक तरकारी ठाडी र महेशवारी प्रहरी चौकीको अगाडिबाटै लहान पुग्ने गरेको छ।
लहान चोकमा आउने ती तरकारी थोक बिक्रेताले खरिद गरी गोलबजार र मिर्चैया लगायतका क्षेत्रमा बिक्रीका लागि पठाउने गर्छन्। आलु, काउली, भन्टा र खुर्सानी जस्ता तरकारी बिना परीक्षण भित्रिँदा स्वास्थ्यमा नकारात्मक असर पर्ने भन्दै नागरिक अगुवा रामविहारी साहले चिन्ता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, हामी निन्द्राबाट व्युझिएका हुँदैनौ तर भारतीय बजारबाट चार ट्रक ठाडी नाका हुँदै भारतीय तरकारी आइपुगेको हुन्छ।
इलाका प्रहरी कार्यालय लहानका नायव उपरीक्षक प्रदिपविष्णु बस्यालले यस विषयमा ठाडी र महेशवारी प्रहरीसँग बुझेर आवश्यक निगरानी बढाइने बताउनुभयो। कृषि ज्ञान केन्द्र सिरहाका सूचना अधिकारी सुदिप खनालका अनुसार भारतमा बेमौसमी तरकारीको उत्पादन बढी हुने भएकाले नेपालतर्फ निर्यात भइरहेको छ।
यता, स्थानीय किसान भने भारतीय तरकारीको आयातबाट मारमा परेका छन्। लहान-१८ का कृषक हृदय महतोले स्थानीय तहका कृषि शाखाहरूले किसानलाई आत्मनिर्भर बनाउन पर्याप्त भूमिका नखेलेको गुनासो गर्नुभयो। उहाँले मल, सिँचाइ र उपयुक्त बजारको अभावमा स्थानीय उत्पादनले प्रतिस्पर्धा गर्न नसकेको तर्क गर्नुभयो।
