काठमाडौं: एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बर्दिया र धनुषाका तीन सामुदायिक विद्यालय र एक अस्पताललाई सहयोग उपलब्ध गराएको छ।
बैंकले बर्दियाको मधुवन नगरपालिका-६ स्थित मधुवन नगर अस्पताललाई बिरामीको उपचारमा सहजताका लागि विभिन्न स्वास्थ्य सामग्री र उपकरण प्रदान गरेको हो। दैनिक ८० भन्दा बढी बिरामीलाई सेवा दिइरहेको उक्त अस्पताललाई बैंकका नेपालगञ्ज सर्कल हेड जीवन शाही र नेपालगञ्ज शाखा प्रमुख मिनराज ज्ञवालीले अस्पताल प्रमुख डा. कुलदिप कुमार यादवलाई सामग्री हस्तान्तरण गरेका हुन्।
त्यस्तै, बैंकले बर्दियाको शिवदुर्गा माध्यमिक विद्यालय र जनज्योति माध्यमिक विद्यालय तथा धनुषाको राष्ट्रिय माध्यमिक विद्यालयमा शुद्ध खानेपानीको व्यवस्था गरेको छ। बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र बहादुर रावलका अनुसार ४१७ भन्दा बढी विद्यार्थी अध्ययनरत शिवदुर्गा माध्यमिक विद्यालयका प्रधानाध्यापक हरि बहादुर बस्नेत र ४३४ भन्दा बढी विद्यार्थी रहेको जनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक मिम बहादुर खड्कालाई पानी शुद्धीकरण प्लान्ट हस्तान्तरण गरिएको हो।
यसैगरी धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-६ स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा पनि बैंकले शुद्ध खानेपानीको सुविधा उपलब्ध गराएको छ। ६२० भन्दा बढी विद्यार्थी रहेको उक्त विद्यालयमा बैंकका जनकपुर सर्कल हेड उत्सुक राज श्रेष्ठ र धनुषा शाखा प्रमुख प्रेम बहादुर श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलीप कुमार श्रेष्ठ र प्रधानाध्यापक सन्तोष कुमार यादवलाई पानी शुद्धीकरण प्लान्ट हस्तान्तरण गरेका छन्।
