काठमाडौं: मध्यपूर्वमा जारी द्वन्द्वका कारण ऊर्जा र खाद्यवस्तुको मूल्यमा भएको वृद्धिसँगै मुद्रास्फीतिमा चाप परेपछि श्रीलङ्काले ब्याजदर बढाएको छ। श्रीलङ्काको केन्द्रीय बैङ्कले छ महिनापछि पहिलोपटक ब्याजदर २५ आधार अङ्कले बढाएर नौ प्रतिशत पुर्याएको हो।
अक्टोबर महिनामा श्रीलङ्काको वार्षिक मुद्रास्फीति दर ८.३ प्रतिशत पुगेको छ, जुन केन्द्रीय बैङ्कले निर्धारण गरेको पाँच प्रतिशतको लक्ष्यभन्दा निकै बढी हो। बैङ्कका अधिकारीहरूका अनुसार मध्यपूर्वको द्वन्द्व लम्बिँदा विश्वव्यापी रूपमा ऊर्जा र खाद्यवस्तुको मूल्य बढेको र त्यसको प्रत्यक्ष असर घरेलु बजारमा परेको छ। आगामी वर्षको दोस्रो अर्धवार्षिक अवधिसम्म पनि मुद्रास्फीतिलाई लक्ष्यअनुसार नियन्त्रणमा राख्न कठिन हुने बैङ्कको आकलन छ।
इरानले अमेरिका र इजरायलसँगको तनावपछि हर्मुज जलघाँटीमा अवरोध सिर्जना गर्दा अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको छ। विश्वको कुल तेल आपूर्तिको करिब पाँचौँ भाग यसै मार्गबाट हुने गर्दछ। यसको प्रभावस्वरूप श्रीलङ्का सरकारले इन्धन र विद्युत् महसुलमा वृद्धि गर्दा ऊर्जाको मूल्य झन्डै ५० प्रतिशतले बढेको छ। यसअघि केन्द्रीय बैङ्कले गत मे महिनामा ब्याजदर १०० आधार अङ्कले बढाएको थियो।
सन् २०२२ मा ४६ अर्ब अमेरिकी डलरको वैदेशिक ऋण तिर्न नसक्दा गम्भीर आर्थिक सङ्कटमा परेको श्रीलङ्काले सन् २०२३ मा अन्तर्राष्ट्रिय मुद्राकोष (IMF) सँग २.९ अर्ब अमेरिकी डलरको ४८ महिने सहायता प्याकेज लिएको थियो। त्यसपछि सरकारले कर वृद्धिलगायतका विभिन्न आर्थिक सुधारका कार्यक्रमहरू लागू गर्दै आएको छ। यसैबीच, गत वर्ष आएको चक्रवातका कारण मुलुकमा ६५० जनाभन्दा बढीको मृत्यु हुनुका साथै चार अर्ब १० करोड अमेरिकी डलर बराबरको भौतिक पूर्वाधारमा क्षति पुगेको थियो।
