काठमाडौं: महोत्तरीको सम्सी गाउँपालिका-५ का २४० परिवारले जग्गाको नापजाँच सम्पन्न भएको ११ वर्षपछि जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेका छन्। साविकको पोखरीभिन्डा संग्रामपुर गाविसका १ देखि ९ वडासम्मका बासिन्दाले लामो प्रतीक्षापछि आफ्नो जग्गाको कानुनी स्वामित्व पाएका हुन्।
नापी कार्यालय महोत्तरीले आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरेपछि प्रमाणपुर्जा वितरण गरेको हो। उक्त क्षेत्रको नापजाँच र नक्साङ्कनको काम २०७२ सालमै सकिएको थियो। तर, लामो समयसम्म विभिन्न कानुनी र प्रशासनिक प्रक्रिया अड्किँदा स्थानीयले लालपुर्जा पाउन सकेका थिएनन्।
अहिले औपचारिक रूपमा जग्गाको स्वामित्व प्राप्त भएसँगै स्थानीयलाई सहज भएको छ। लालपुर्जा पाएपछि अब उनीहरूले जग्गा बैंक तथा वित्तीय संस्थामा धितो राखेर ऋण लिन सक्नेछन्। साथै, जग्गाको स्वामित्व स्पष्ट हुँदा जग्गासम्बन्धी विवाद समाधान गर्न पनि मद्दत पुग्ने विश्वास लिइएको छ।
