पोखरा। पोखरामा निर्माण हुन लागेको प्रिमियम क्लब ‘भोल्क्यानो’को काम शनिवार भूमि पूजासँगै औपचारिक रूपमा सुरु भएको छ।
पोखराका व्यवसायी विशाल तुलाचन तथा काठमाडौंका व्यावसायीहरू विशाल थापा र विशाल श्रेष्ठले बराबर स्वामित्वमा यो परियोजना अघि बढाएका हुन्। परियोजना सञ्चालनका लागि उनीहरूले ‘विशाल अर्बन भेन्चर्स’ नामक कम्पनी दर्ता गरेका छन्।
कम्पनीका सञ्चालकले ५० करोड रुपैयाँभन्दा बढी लगानीमा विश्वस्तरीय क्लब बनाउन लागिएको बताए। क्लब, रेस्टुरेन्ट, फुड कोर्ट, स्पा, रूफटप रेस्टुरेन्ट र बालबालिकाका लागि प्ले जोन समेटिने भोल्क्यानो एक वर्षभित्र सञ्चालनमा ल्याउने लक्ष्य छ।
सञ्चालकका अनुसार भोल्क्यानोलाई नेपालमा मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमै उदाहरणीय बनाउने सोच राखिएको छ। यसको डिजाइन तयार गर्न सिंगापुर, भियतनाम, थाइल्यान्ड र स्पेनका क्लबको संरचना अध्ययन गरिएको छ। ती क्लबका राम्रा पक्ष लिँदै आफ्नै मौलिक अवधारणा तयार पारिने उनीहरूले बताएका छन्।
क्लब सञ्चालनमा आएपछि करिब १२० जनाले प्रत्यक्ष रोजगारी पाउनेछन्। साथै पोखराको आतिथ्य तथा मनोरञ्जन क्षेत्रमा नयाँ व्यावसायिक अवसर खुल्ने अपेक्षा गरिएको छ।
फेवाताल, हिमालको दृश्य र साहसिक खेलका कारण पोखरा नेपालको अग्रणी पर्यटकीय गन्तव्य बनेको छ। यहाँ आउने पर्यटकलाई प्रकृतिले मात्र होइन, राम्रो बसाइ, खानपान र रमाइलोका विकल्पले पनि रोक्न सक्छ। त्यसैले पर्यटकीय सहरमा स्तरीय मनोरञ्जन थलोको खाँचो छ।
विशेषगरी विदेशी पर्यटकलाई लक्षित भोल्क्यानोले पोखराको पर्यटनमा नयाँ आकर्षण थप्न सक्ने सञ्चालकहरूको विश्वास छ।
