धनकुटा: धनकुटाको साँगुरीगढी गाउँपालिका-६ स्थित भेडेटारमा यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको बाक्लो उपस्थिति देखिएको छ। पर्यटकको चाप बढेसँगै यस क्षेत्रका साना तथा ठूला होटलहरू भरिभराउ भएका छन्। गर्मी छल्न र मनोरम दृश्य अवलोकन गर्न आउने पर्यटकको रोजाइमा भेडेटार पर्ने गरेको छ। विशेषगरी तराईका विभिन्न स्थान र भारतबाट पर्यटकहरू यहाँ आउने गरेका छन्।
होटल एसोसिएसन भेडेटारका अध्यक्ष तुमरा लिम्बूका अनुसार यस क्षेत्रमा हाल करिब एक सयको हाराहारीमा होटलहरू सञ्चालनमा छन्। नमस्ते झरना र नाम्जे बजार जस्ता पर्यटकीय गन्तव्यले गर्दा पनि पर्यटकहरू यहाँ आकर्षित हुने गरेका छन्। सिएनएनले नाम्जे बजारलाई विश्वका १२ गन्तव्यमध्ये पाँचौँ स्थानमा राखेपछि यस क्षेत्रको चर्चा थप चुलिएको छ।
होटल व्यवसायी लिलाराज लावतीले दुई दिनको सार्वजनिक बिदापछि आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएको र यसले होटल व्यवसायलाई चलायमान बनाएको बताउनुभयो। अर्का व्यवसायी सुनीता थापाका अनुसार मौसममा हुने छिटो परिवर्तन यहाँको मुख्य आकर्षण हो। जाडो सुरु भएसँगै अहिले दैनिक न्यूनतम ५ देखि ७ सय पर्यटक भेडेटार आउने गरेका छन् भने गर्मीयाममा यो संख्या दैनिक एक हजारभन्दा बढी पुग्ने गर्छ।
पर्यटकलाई आकर्षित गर्न हरेक अंग्रेजी नयाँ वर्षको सुरुआतमा भेडेटारमा फुड फेस्टिभलसमेत आयोजना गरिँदै आएको छ। भेडेटारसहित डाँडाबजारको ध्वजेडाँडा र चौबिसे गाउँपालिकाको रानी ताल पनि पर्यटकको रोजाइमा पर्ने गरेका छन्। पूर्वी नेपाल भ्रमणमा आउने पर्यटकहरू भेडेटारको मनोरम दृश्य अवलोकन गर्न अनिवार्य रूपमा पुग्ने गरेका व्यवसायी दिलीप लिम्बूले जानकारी दिनुभयो।
