काठमाडौं: अन्नपूर्ण संरक्षण क्षेत्रमा चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म एक लाख २३ हजार ७१४ विदेशी पर्यटकले भ्रमण गरेका छन्। यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा २९ हजार ११० ले बढी हो।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा. रविन कडरियाका अनुसार यस अवधिमा दक्षिण एसियाली मुलुकबाट ५२ हजार ८८६ पर्यटक भित्रिएका छन् भने बाँकी अन्य देशका नागरिक हुन्।
यस वर्ष साउनमा २६ हजार ५९१, भदौमा १७ हजार ९१३, असोजमा ३२ हजार ९३६ र कात्तिकमा ४६ हजार २४७ पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेका छन्। सात हजार ६०० वर्ग किलोमिटरमा फैलिएको यो क्षेत्र प्राकृतिक सुन्दरता, जैविक विविधता र हिमाली संस्कृतिका कारण पर्यटकको रोजाइमा पर्ने गरेको छ। विशेष गरी अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ र घोडेपानी जस्ता गन्तव्यहरूमा पर्यटकहरूको आकर्षण बढ्दो छ।
