काठमाडौं: सिटिजन्स क्यापिटल लिमिटेडले सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ‘सिटिजन्स सुपर ५०’ योजनाको इकाई खरिदका लागि आवेदन दिने समय थप गरेको छ। यसअघि मंसिर २ गतेदेखि खुला गरिएको आवेदनको मिति अब मंसिर १६ गतेसम्म कायम गरिएको छ।
यस योजना अन्तर्गत प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १० करोड इकाई निष्कासन गरिएको छ। लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
कुल निष्कासन गरिएको इकाईमध्ये १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाईको १५ प्रतिशत कोष प्रवर्द्धक सिटिजन्स बैंकका लागि सुरक्षित राखिएको छ। सर्वसाधारणका लागि ८ करोड ५० लाख इकाई छुट्याइएको छ।
सिटिजन्स क्यापिटल लिमिटेड धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक रहेको यस योजनाको कुल आकार १ अर्ब रुपैयाँ रहेको छ। यो एक बन्दमुखी म्युचुअल फण्ड योजना हो।
