काठमाडौं: चीनले आफ्नो सेयर बजारलाई स्थिर बनाउन र लगानीकर्ताको विश्वास अभिवृद्धि गर्ने उद्देश्यले नयाँ नीतिगत उपायहरू सार्वजनिक गरेको छ। चीनको धितोपत्र नियामक निकायको स्वीकृतिमा सांघाई, सेन्जेन र बेइजिङ स्टक एक्सचेन्जले मार्जिन कारोबारका लागि आवश्यक न्यूनतम मार्जिन अनुपात १०० प्रतिशतबाट घटाएर ८० प्रतिशत कायम गर्ने निर्णय गरेका छन्। यो व्यवस्था आगामी नोभेम्बर ३० देखि लागू हुनेछ।
यस निर्णयबाट बजारमा करिब ४०० अर्ब युआन अर्थात् करिब ५९ अर्ब ५८ करोड अमेरिकी डलर थप लगानीका लागि उपलब्ध हुन सक्ने अनुमान गरिएको छ। मार्जिन कारोबार भनेको लगानीकर्ताले ब्रोकरबाट ऋण लिएर सेयर खरिद गर्ने प्रक्रिया हो, जसमा न्यूनतम रकम घटाउँदा लगानीकर्तालाई थप सेयर खरिद गर्न सहज हुन्छ।
यसैबीच, सांघाई र सेन्जेन स्टक एक्सचेन्जले कारोबार शुल्कमा छुट दिने घोषणा गरेका छन्। बजारमा सहभागी संस्थाले तिर्नुपर्ने कारोबार एकाइ प्रयोग शुल्क मिनाहा गरिएको छ भने सूचीकृत कम्पनीहरूको शुल्क छुटको व्यवस्थालाई सन् २०२८ सम्मका लागि निरन्तरता दिइएको छ।
त्यस्तै, सेन्जेन स्टक एक्सचेन्जले प्रविधि कम्पनीहरूको बजार मानिने चाइनानेक्स्टमा बजार निर्माता प्रणाली लागू गर्ने नियमको मस्यौदामाथि सार्वजनिक राय संकलन सुरु गरेको छ। यस प्रणालीले बजारमा सेयरको माग र आपूर्ति सहज बनाउने, मूल्यको उतारचढाव कम गर्ने र बजारको स्थायित्व कायम गर्ने अपेक्षा गरिएको छ।
चीनको केन्द्रीय बैंकले पनि यसअघि नै पुँजी बजारलाई सहयोग पुर्याउने उद्देश्यले विभिन्न कदम चालेको थियो। बैंकले नोभेम्बर ३ मा सट्टापट्टा सुविधाअन्तर्गत ३१ वित्तीय संस्थाका लागि १०० अर्ब युआनको कारोबार सञ्चालन गरेको थियो। साथै, सेयर पुनः खरिदका लागि बैंकमार्फत उपलब्ध गराइने कर्जाको ब्याजदर पनि १.२५ प्रतिशतबाट घटाएर १ प्रतिशत कायम गरिएको छ। पछिल्ला यी नीतिगत कदमहरू प्रमुख सेयर बजार सूचकहरू ओरालो लागिरहेका बेला लगानीकर्ताको विश्वास बढाउन ल्याइएका हुन्।
