पोखरा । आन्तरिक राजस्व कार्यालय पोखराले आर्थिक वर्ष २०८१/८२ मा कास्की र स्याङ्जा जिल्लाबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाताका रूपमा टेम्पल ट्रि रिसोर्ट एण्ड स्पालाई सम्मान गरेको छ । लेकसाइडमा अवस्थित उक्त रिसोर्टले यसअघि पनि दुई पटक उत्कृष्ट करदाताको सम्मान पाइसकेको छ ।
यस वर्ष एक्सेस कन्स्ट्रक्सन प्रालि र कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड पनि उत्कृष्ट करदाताका रूपमा सम्मानित भएका छन् । समयमै कर विवरण बुझाउने र कर बक्यौता नरहेका संस्थाहरूलाई कार्यालयले राष्ट्रिय कर दिवसको अवसरमा सम्मान गरेको हो । यद्यपि, ती संस्थाहरूले तिरेको करको रकम भने सार्वजनिक गरिएको छैन ।
राष्ट्रिय कर दिवसको समापन समारोहमा प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले मुलुकको विकास र सार्वजनिक सेवा प्रवाहका लागि कर तिर्ने संस्कार महत्त्वपूर्ण रहेको बताए । कार्यक्रममा प्रमुख कर अधिकृतले कर प्रशासन र करदाताबीचको सम्बन्ध सुधार गर्ने प्रतिबद्धता जनाउँदै आर्थिक ऐन, २०८३ अनुसार कर छुट सुविधाको अन्तिम म्याद पुस मसान्तसम्म रहेकाले त्यसको सदुपयोग गर्न करदातालाई आग्रह गरे ।
आन्तरिक राजस्व कार्यालय पोखराले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म लक्ष्यको १०४ प्रतिशत राजस्व संकलन गरेको छ । कार्यालयको वार्षिक राजस्व संकलन लक्ष्य ८ अर्ब ५४ करोड ८७ लाख ८६ हजार रुपैयाँ रहेकोमा कात्तिक मसान्तसम्म २ अर्ब ३६ करोड ५ लाख २९ हजार रुपैयाँ संकलन भएको छ ।
